शिक्षा

सियोन स्कुलद्वारा कक्षा–१० का विद्यार्थीलाई लक्षित गरी नमुना प्रतिनिधि सभा अभ्यास

धरान-१६ स्थित सियोन स्कुलले कक्षा–१० का विद्यार्थीलाई लक्षित गरी नमुना प्रतिनिधि सभा अभ्यास गराइरहेको छ। विद्यार्थीलाई नेपालको संसदीय व्यवस्था, सरकार सञ्चालन र कानुन निर्माण प्रक्रियाबारे व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले सञ्चालन गरिएको अभ्यासको अन्तिम बैठक यही श्रावण २९ गते शुक्रबार दिउँसो १ बजे विद्यालयको सभा हलमा बस्दैछ।
श्रावण २१ गते बिहिबारदेखि सुरु भएको अभ्यासमा विद्यार्थीहरूले वास्तविक प्रतिनिधि सभाको बैठकको झल्को दिने गरी दैनिक रूपमा संसदीय अभ्यास गर्दै आएका छन्। अभ्यासको सहजीकरण प्रशिक्षक तिर्थ कार्कीले गरिरहेका छन्।
अभ्यासका क्रममा विद्यार्थीलाई राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका काम, अधिकार र भूमिकाका साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संरचना तथा काम, सरकार गठन प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिइएको छ।
त्यसैगरी, कानुन निर्माणको प्रक्रियाअन्तर्गत कानुनको मस्यौदा, विधेयक, ऐन, कानुन र संविधानजस्ता आधारभूत विषयमा समेत विद्यार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक जानकारी दिइएको कार्कीले बताए। उनका अनुसार कक्षा–१० को सामाजिक शिक्षा विषयमा अध्ययन हुने विषयवस्तुलाई प्रत्यक्ष अभ्याससँग जोडिएकाले विद्यार्थीले पढाइमा सिकेका विषयलाई व्यवहारमै बुझ्ने अवसर पाएका छन्।

नमुना प्रतिनिधि सभामा विद्यार्थीहरूले ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ लाई नमुना विधेयकका रूपमा अघि बढाएका छन्। विधेयकमा दफा १ देखि २९ सम्मका व्यवस्था समेटिएका छन्।
बिहीबारसम्म विद्यार्थीहरूले उक्त विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल सम्पन्न गरी नमुना प्रतिनिधि सभाबाट पारित गर्ने अभ्याससमेत गरिसकेका छन्। अन्तिम बैठकमा विधेयकलाई औपचारिक संसदीय प्रक्रियाअनुसार अघि बढाउँदै पारित गर्ने अभ्यास गरिनेछ।

अन्तिम बैठकमा नमुना सभामुखको भूमिकामा छात्रा कृष्मा सुनुवार रहनेछिन् भने नमुना प्रधानमन्त्रीको भूमिकामा ग्रेसी ब्लोन रहनेछिन्। त्यस्तै, नमुना सञ्चार तथा सूचना प्रविधिमन्त्री लोजिना लिम्बुले ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ लाई छलफल गरी पारित गरियोस् भन्ने प्रस्तावसहित सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अन्य विद्यार्थीहरूले विभिन्न दल तथा सांसदको भूमिका निर्वाह गर्दै विधेयकमाथिको छलफलमा सहभागी हुने, आफ्ना धारणा प्रस्तुत गर्ने र संसदीय प्रक्रियाअनुसार निर्णयमा पुग्ने अभ्यास गर्नेछन्।

विद्यालयले सञ्चालन गरेको यो अभ्यास केवल भाषण वा अभिनयमा सीमित नभई विद्यार्थीलाई संसदीय प्रणाली, लोकतान्त्रिक अभ्यास, विधिको शासन र जिम्मेवार नागरिकको भूमिकाबारे प्रत्यक्ष अनुभव दिलाउने शैक्षिक अभ्यासका रूपमा अघि बढाइएको छ।

विद्यालयका निर्देशक/प्रिन्सिपल खड्गबहादुर थापा मगरले नमुना संसद्को अभ्यासले विद्यार्थीको आत्मविश्वास वृद्धि हुनुका साथै नेतृत्व क्षमता, तार्किक सोच, सार्वजनिक रूपमा आफ्ना विचार राख्ने क्षमता र निर्णय प्रक्रियामा सहभागी हुने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कक्षा–१० को सामाजिक शिक्षा विषयमा समेत राज्यका अंग, संविधान, संसद्, सरकार र कानुन निर्माण प्रक्रियासम्बन्धी विषयवस्तु समेटिएकाले किताबी ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्दा विद्यार्थीले विषयलाई अझ सहज र प्रभावकारी रूपमा बुझ्न सक्ने उनको भनाइ छ।

“विद्यार्थीले आज विद्यालयमै संसद्, सरकार र कानुन निर्माणको अभ्यास गरे भने भोलि देशको शासन व्यवस्था र लोकतान्त्रिक प्रणाली बुझ्ने जिम्मेवार नागरिक बन्न सक्छन्,” भन्ने उद्देश्यसहित अभ्यास सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई