
धरान: बाँझगराको ऐतिहासिक पहिचान संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘धरान बाँझगरा रन २०८३’ आयोजना हुने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले मंसिर २० गते प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। धरानका वडा ४, ५, ६ र १५ लाई समेटेर आयोजना हुने प्रतियोगितामा ३ र ५ किलोमिटर दौड समावेश गरिएका छन्।
आयोजकका अनुसार बाँझगरा क्षेत्रको ऐतिहासिक नाम र पहिचान पछिल्लो पुस्तासम्म परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस क्षेत्रमा विसं १९५० देखि व्यवस्थित बस्ती सुरु भएको इतिहास छ।
प्रतियोगितामा अन्डर–१६ महिला तथा पुरुषतर्फ ३ किलोमिटर, १७ देखि ३९ वर्ष उमेर समूहको महिला तथा पुरुष खुलातर्फ ५ किलोमिटर र भेट्रान्स पुरुषतर्फ ५ किलोमिटर दौड हुनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि ७० हजार रुपैयाँ रहेको छ। खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। अन्डर–१६ र भेट्रान्सतर्फ क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा निर्धारित दूरी पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।
यस वर्ष बाँझगरा स्तरीय प्रतियोगिताका रूपमा सञ्चालन हुने रनलाई आगामी वर्ष नगर, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा विस्तार गर्ने आयोजकको लक्ष्य छ। प्रतियोगितालाई नियमित वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।

