
धरान: नेपाली कांग्रेसको देउवा पक्षको सुनसरी जिल्ला अधिवेशनमा नेताहरूले गगन थापा पक्षको चर्को आलोचना गरेका छन्।
बुधबार धरानमा आयोजित नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत सुनसरी जिल्ला अधिवेशन तथा घोषणा कार्यक्रममा बोल्दै नेताहरूले पार्टीभित्रको वर्तमान विवाद,नेतृत्वमाथिको आक्रमण र वैचारिक विचलनबारे टिप्पणी गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले हराउन नसक्ने बताए।
उनले कांग्रेसको विचार, आदर्श, इतिहास र नेतृत्व नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गरे।
‘नेपाली कांग्रेसको शक्ति भनेको यसको विचार,आदर्श र इतिहास हो। कांग्रेस साँच्चिकै एकजुट भयो भने कसैले हराउन सक्दैन,’ उनले भने।
कोइरालाले लोकतन्त्र स्थापनापछि देशमा भएका राजनीतिक, शैक्षिक, आर्थिक तथा पूर्वाधार विकासका परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दाबी गरे। विगतको राजनीतिक संघर्ष स्मरण गर्दै उनले अब कांग्रेस राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए।
त्यस्तै, कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापा पक्षको आलोचना गर्दै पार्टीको नेतृत्व र संगठनलाई कमजोर बनाउने गतिविधि भइरहेको आरोप लगाए।
उनले देशको वर्तमान समस्या समाधान गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको दाबी गरे। आफू कांग्रेसको समर्पित सिपाही भएको उल्लेख गर्दै बस्नेतले पार्टी र नेतृत्वमाथि संकट आउँदा आफू सधैँ पार्टीको पक्षमा उभिएको बताए।
आन्दोलनका क्रममा भएका घटनाको प्रसंग उल्लेख गर्दै उनले केही नेताले गल्ती स्वीकार गरी माफी मागेको टिप्पणी गरे। पार्टीभित्र पुरानो, नयाँ र युवा पुस्ताबीच फरक विचार हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले विरोधी विचार राख्नेहरूलाई पनि स्थान दिनुपर्ने धारणा राखे।
कांग्रेस नेता डा। प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको विरोध गर्नुको सट्टा गगन थापा पक्षले नेतृत्वलाई नै अपराधीकरण गरेको आरोप लगाए।
महतले कांग्रेसको इतिहासमै नभएको घटना भएको उल्लेख गर्दै पार्टीको मूल धारलाई नेतृत्वबाट हटाउने प्रयास भइरहेको बताए। कांग्रेसको विचार, विधान र संस्कार छाडेर हिँड्नेहरूले पार्टीको मूल भावना प्रतिनिधित्व गर्न नसक्ने उनको भनाइ थियो।
उनले गगन थापा पक्षले प्रजातान्त्रिक समाजवादको मुद्दा छाडेर रास्वपाका मुद्दा बोकेको आरोपसमेत लगाए।
‘नेपाली कांग्रेसको आत्मा गगन पक्षमा छैन,’ महतले भने, ‘कांग्रेसको विचार, विधान र संस्कार छाडेर हिँड्नेहरू पार्टीको मूल भावना बोकेर हिँडिरहेका छैनन्।’
महतले नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले नै प्राप्त गर्ने दाबी गर्दै देशमा न्याय नमरेको बताए।
कार्यक्रममा केदार कार्कीलगायत कांग्रेसका केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

