
इनरुवा: नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १, रामधुनी नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट वडा कार्यसमितिको सभापति पदमा रमेश राई सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
लामो समयदेखि पार्टीमा निरन्तर र सक्रिय राजनीति गर्दै आएका राई यसअघि साविक बकलौरी गाविस नेपाली काँग्रेसको उपसभापति तथा नेपाल तरुण दलको जिल्ला सदस्य भई संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका स्थापित नेता हुन्। उनको नेतृत्वमा वडा कार्यसमिति मजबुत हुने विश्वास पार्टी कार्यकर्ताहरूले व्यक्त गरेका छन्।
यसैगरी, अधिवेशनबाट वडा कार्यसमितिको सचिव पदमा बिरेन्द्र चौधरी निर्वाचित भएका छन्।
नेतृत्व चयन प्रक्रियामा सहमति र सहकार्यको वातावरण बन्दै नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू समेत सर्वसम्मत रूपमा चयन भएका छन्।
नवनिर्वाचित सभापति रमेश राईले आफूमाथि पार्टीले राखेको विश्वासलाई कदर गर्दै वडामा काँग्रेसलाई अझ सांगठनिक रूपमा बलियो बनाउने र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको व्यापक उत्साहजनक सहभागिता रहेको थियो।

