
धरान: धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरूले श्रम संस्कृति पार्टीको सदस्यता लिएको विवरण सार्वजनिक भएको छ।
कर्मचारीको नाममा जारी भएको सदस्यता रसिदमा उनीहरूलाई पार्टीको ‘श्रमदाता साधारण सदस्य’ बनाइएको उल्लेख छ।
सार्वजनिक भएको रसिद अनुसार उपमहानगरपालिकाका सुम्नीमा लिम्बु (घण्टाघर), संगिता राई, अनुज भुजेल (घण्टाघर), स्पा केरुङ लिम्बु तथा खानेपानीका कर्मचारी माकुम राईको नाम सदस्यतामा रहेको देखिन्छ। रसिदमा सदस्यता वितरण गर्ने व्यक्तिका रूपमा सांसद हर्क साम्पाङको नाम रहेको छ।
पार्टीका अध्यक्ष साम्पाङले यसअघि कर्मचारी तथा पत्रकारलाई श्रम संस्कृति पार्टीको सदस्यता नदिने बताउँदै आएको थियो। उपमहानगरमा कार्यरत कर्मचारीको नाम पार्टी सदस्यताको रसिदमा देखिएपछि उनको भनाइ र सार्वजनिक भएको विवरणबीच विरोधाभास देखिएको छ।
सरकारी सेवामा कार्यरत कर्मचारी राजनीतिक दलको सदस्य बनेको भए त्यसको कानुनी तथा प्रशासनिक पक्षसमेत प्रश्नको विषय बन्न सक्छ। यद्यपि,सम्बन्धित कर्मचारीहरूले सदस्यता स्वेच्छाले लिएको हो होइन र सदस्यता वितरणको वास्तविक अवस्था भने उनीहरूको आधिकारिक धारणा आएको छैन ।

