धरान १८ मा रहेको गुम्बामा सदा झै यो बर्ष पनि गुरुङ समुदायले सामुहिक रुपमा तमु ल्होसार मनाएका छन। तमु ल्होसार गुरुङ जातिको महान चाड हो। नयाँ वर्ष तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको अवसरमा मनाउने गर्दछ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । यसैलाई आधार मानेर संसारभरिका गुरुङ समुदायले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने प्रचलन छ । सबै जातजातिको आ आफ्नै संस्कृति, परम्परा र रितिरिवाज हुन्छ । गुरुङ जातिको पनि तमु ल्होसार महत्वपूर्ण चाड हो । विशेष गरेर नयाँ बर्षको रुपमा गुरुङ समुदायले मनाउने गर्छन् ।
घर घरमा मनाउने यो पर्व पछिल्लो समय सामुहिक त्यसमा पनि साझा पर्वको रुपमा विकास हुदै गएको छ। सामुहिक रुपमा सबै जात धर्मको चार्ड पर्व मनाउदा सबैको धर्म संस्कार प्रती सम्मान गर्ने सोच बिकास हुने उपस्थीत गुरुङ समुदायका अगुवाहरुले बताउछन।
ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषाहरु शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रोमा गुरुङ समुदायका बृद्व देखि युवा पुस्ताले लगाएर सहभागी भएका थिए। पुर्खाहरुले निरन्तर मनाउदै आएको यो पर्व जगेर्ना गर्ने पालो युवा पुस्ताको रहेको तमु ल्होसारमा सहभागी अगुवाहरुले बताएका थिए।
अहिले धरानमा मनाउने गरेका आदिवासी जनजातिका चाडपर्व होस् या हिन्दु सनातनधर्मालम्बीले मनाउने गरेका चाडपर्व होस् सबै साझा पर्वको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ ।