
धरान: प्रत्येक बर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवस मे १२ तारिखको दिन मनाइन्छ । तर धरानमा भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स तथा स्वास्थ्यको क्षेत्रका काम गर्ने मिड्सन कोशी प्रदेशको सहकार्यमा वडा वडामा सचेतना कार्यक्रमको आयोजनालाई तिब्रता दिएको छ ।
सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन गरिएको छ । नर्सिङ दिवसलाई विश्वभरिका नर्सिङ पेशामा आवद्धहरुले महत्वका साथ हेर्ने गर्छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत नर्सहरुको संस्था नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइ समिति र मिडसनको कोशी प्रदे्श शाखाले धरानका वडा वडामा महिलाहरुको स्तन, पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षणसँगै सचेतना फैलाएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १७ बाट शुरु भएको यो अभियान मंगलबार धरान वडा नं. ३ मा आयोजना गरिने नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइकी अध्यक्ष कला थापाले जानकारी दिनुभयो ।
‘नर्स हाम्रो भविष्य, सम्मानजनक काम गर्ने वातावरणको सिर्जना’ भन्ने नारा बोकेर यस बर्षको अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउन लागिएको छ । यस बर्ष भने दिवससँगै महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सरको प्राथमिक उपचारसँगै सचेतना कार्यक्रम धरानका सबै वडामा थालिएको बताउनुभयो । उहाँले १२ मे मा हुने अन्तर्राष्ट्रिय नर्सिङ दिवस धरानमा रचनात्मक ढंगबाट भव्यताका साथ मनाउन लागिएको बताउनुभयो ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एसोसिएट प्रोफेसर एवम् मिड्सनको स्वास्थ्यकर्मी समेत रहनु भएकी प्रिति चौधरी अन्तर्राष्ट्रिय नर्सिङ दिवसको पूर्व सन्ध्यामा प्रजन्नमा हुने समस्या, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षणसँगै सचेतना कार्यक्रमको आयोजना धरान १७ नं. वडामा गरिएको बताउनुभयो ।
नर्सहरुको भूमिकालाई जनमानससम्म पुर्याउदै महिलामा हुने विभिन्न प्रकारका रोगको पहिचान, उपचारसँगै सचेतना फैल्याउने उद्देश्यले विश्व नर्सिङ दिवसको पूर्व सन्ध्यामा धरानका वडा वडामा कार्यक्रम गर्दै आएको हो । क्रमिक रुपमा सबै वडाहरुमा कार्यक्रम गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो ।