
धरान: नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि तीन जनाले आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। धरान ८ स्थित सभागृहमा रहेको निवाचन कार्यलयमा क्षेत्रीय सभापतिका लागि धरानका पूर्व नगरप्रमुख तथा कांग्रेस महासमिति सदस्य तिलक राई, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता विनोद आले मगर र सचिन पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्।
तीनै जनाको उम्मेदवारीसँगै सुनसरी–१ मा कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ। असोज १२ गते दिनको १ बजे सम्म सहमती नभए क्षेत्रीय सभापतिको लागि निर्वाचन हुने पक्का भएको छ। अन्य पदाधिकारी र सद्स्यहरु भने सर्बसहमत निर्वाचित हुने भएको छ।
धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका तिलक राई नेपाली कांग्रेसको लामो राजनीतिक पृष्ठभूमि भएका नेता हुन्। उनी २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको छ। नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका राई २०५४ सालमा नेविसंघ धरानको सचिव, २०५५ सालमा तरुण दल धरान नगर समितिको सदस्य र २०५७ सालमा तरुण दल धरान नगर सभापति बनेका थिए। त्यसपछि २०६२ सालमा कांग्रेस धरान नगर सचिव तथा २०७२ सालमा धरान नगर सभापतिको जिम्मेवारी सम्हालेका थिए।
राई २०७४ सालको स्थानीय तह निर्वाचनमा धरानको मेयर पदमा कांग्रेसबाट उम्मेदवार बनेका राई पुर्व मेयर स्व. तारा सुब्बा संग पराजित भएका थिए। सुब्बाको निधन पछि पछि २०७६ सालको उपनिर्वाचनमा पुनः मेयरको उम्मेदवार बनेर धरानका मेयरमा निर्वाचित भएका थिए।
२०७६ सालको उपनिर्वाचनमा राईको विजयसँगै धरानमा लामो समयदेखि रहेको वामपन्थी प्रभावलाई कांग्रेसले तोड्दै पहिलो पटक धरानका मेयर बनेका थिए।
राईले यसअघि पनि पार्टीको आन्तरिक नेतृत्वको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संगठनभित्र विश्वासको वातावरण आवश्यक रहेको बताउँदै आएका छन्। २०७८ सालमा क्षेत्रीय सभापतिको विषयमा उनले पार्टीभित्र पर्याप्त छलफल र विश्वासको वातावरण नबनेका कारण आफू उम्मेदवार नबनेको बताएका थिए।
त्यस्तै, अर्का उम्मेदवार विनोद आले मगर कांग्रेसको विद्यार्थी राजनीतिबाट सक्रिय भएका युवा नेता हुन्। उनी नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस धरानका सभापति हुन। कांग्रेसका सांगठनिक कार्यक्रममा विद्यार्थी प्रतिनिधिका रूपमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।
आले मगरले पार्टीको नेतृत्वमा युवा पुस्ताको सहभागिता, संगठनलाई चलायमान बनाउने तथा विद्यार्थी र युवालाई कांग्रेससँग जोड्ने विषयलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सारेका छन्। विद्यार्थी राजनीतिबाट क्षेत्रीय नेतृत्वको प्रतिस्पर्धामा आएका आले मगरको उम्मेदवारीलाई कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
सचिन पोखरेल पनि क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी दिने अर्का प्रतिस्पर्धी हुन्। उनले पार्टी संगठनलाई बलियो बनाउँदै कार्यकर्तामाझ समन्वय र सक्रियता बढाउने विषयलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताएका छन्।
सुनसरी–१ कांग्रेसको संगठनात्मक हिसाबले महत्त्वपूर्ण निर्वाचन क्षेत्र मानिन्छ। धरान उपमहानगरपालिकाका अधिकांश वडा समेटिएको यस क्षेत्रमा पार्टीको क्षेत्रीय नेतृत्व चयनले आगामी दिनमा कांग्रेसको संगठन सञ्चालनमा प्रभाव पार्ने भएकाले तीनै उम्मेदवारको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
क्षेत्रीय सभापति पदमा एकातिर लामो राजनीतिक अनुभव र स्थानीय तहको नेतृत्व गरिसकेका तिलक राई छन् भने अर्कोतर्फ विद्यार्थी राजनीतिबाट आएका विनोद आले मगर र सचिन पोखरेल प्रतिस्पर्धामा छन्। उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि र नेतृत्व अनुभव फरक भएकाले क्षेत्रीय प्रतिनिधिहरूको निर्णयबाट सुनसरी–१ कांग्रेसको आगामी नेतृत्व तय हुनेछ।

