धरान विशेष

सडक मानवमुक्त धरान बनाउने तयारी : उद्धारदेखि पुनर्मिलनसम्म


धरान : सडकमा आश्रित तथा जोखिममा रहेका व्यक्तिको उद्धारसँगै परिवार खोजी, पुनर्मिलन र दीर्घकालीन व्यवस्थापनमा जोड दिँदै धरान उपमहानगरपालिकाले ‘सडक मानवमुक्त धरान’ बनाउने तयारी थालेको छ।
मंगलबार उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा अन्तर्गत ‘सडक मानवमुक्त घोषणा’का लागि गठित स्थानीय निर्देशक समितिको बैठक कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको उपस्थितिमा बसेको थियो।
बैठकमा सडक तथा आश्रयविहीन व्यक्तिको उद्धारपछि परिवार खोजी गरी घर फर्काउने, बालबालिकालाई पुनः विद्यालय पठाउने र परिवार पत्ता नलागेका व्यक्तिलाई मानव सेवा आश्रममा व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो।
बैठकमा उद्धार गरिएका केही बालबालिका तथा व्यक्तिको परिवार पत्ता लगाई घर फर्काइएको जानकारी दिइएको छ।
बालबालिकालाई पुनः विद्यालय पठाउने व्यवस्था समेत मिलाइएको जनाइएको छ। परिवार पत्ता नलागेका व्यक्तिलाई मानव सेवा आश्रमको प्रत्यक्ष हेरचाहमा राखी आवश्यक स्वास्थ्य उपचार तथा दीर्घकालीन व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको छ।
सडकमा रहेका व्यक्तिको उद्धारपछि उनीहरूको अवस्था पहिचान गरी परिवारसँग पुनर्मिलन गराउने र पुनर्मिलनपछि पनि उनीहरूको अवस्थाबारे फलोअप गर्ने रणनीति बनाइएको छ।
विभिन्न माध्यमबाट खोजी गर्दा समेत परिवार पत्ता नलागेका व्यक्तिको हकमा आश्रममै राखेर आवश्यक हेरचाह तथा उपचारको व्यवस्था गरिने जनाइएको छ।
कार्यक्रमलाई प्रभावकारी र निरन्तर बनाउन निर्देशक समिति तथा कार्यसमितिको भूमिका, बजेट व्यवस्थापन, उद्धार तथा पुनः स्थापनाको प्रक्रिया र आगामी कार्ययोजनाबारे समेत बैठकमा छलफल भएको छ।
नगरपालिका, मानव सेवा आश्रम, उद्योगी–व्यवसायी, ट्रेड युनियन तथा पत्रकार महासंघलगायत सरोकारवाला निकायको समन्वयमा सडकमा आश्रित व्यक्तिहरूको उद्धार,परिवारसँग पुनर्मिलन तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिने तयारी गरिएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।