
धरान: धरान–९ स्थित सुमेधा एजुकेशन नेटवर्क प्रालिले बाढीपीडितको राहत तथा उद्धारका लागि दुई लाख रुपैयाँ नगद सहयोग गरेको छ।
बिहीबार सुमेधा एजुकेशन नेटवर्क प्रालिका तर्फबाट सुरेन्द्र घिमिरेले प्रधानमन्त्री राहत कोषको नाममा दुई लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन्।
सुमेधाले आफ्ना २६ जना कर्मचारीको एक दिनको तलबबाट २६ हजार ५०० रुपैयाँ तथा बाँकी एक लाख ७३ हजार ५०० रुपैयाँ संस्थाको तर्फबाट सहयोग गरेको जनाएको छ।
सहयोग हस्तान्तरण गर्दै घिमिरेले विपद्को समयमा सहयोग गर्ने संस्कारको विकाससँगै अन्य सहयोगी हातलाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्यले राहत रकम प्रदान गरिएको बताए।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सुमेधाले जनाएको छ।
सुमेधाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै अन्य व्यक्ति तथा संस्थालाई समेत राहत अभियानमा जोडिन आग्रह गरेको छ।

