
धरान: धरान–१३ स्थित पब्लिक माध्यमिक विद्यालय फुस्रेमा शिक्षक–अभिभावक संघ गठन भएको छ।
बिहीबार सम्या लिम्बूको अध्यक्षतामा सात सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरिएको हो।
संघका सदस्यहरूमा मैयाँ दर्जी, सिर्जना राई, सपना राई, रोशन लिम्बू, शर्मिला तामाङ र शान्ति राई रहेका छन्।
विद्यालयका प्रधानाध्यापक नारद राई संघको सचिव रहेका छन्।
यसैबीच विद्यालयका नवनियुक्त प्रधानाध्यापक नारद राईले बिहीबार नै पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै राईले आफूले हासिल गरेको ज्ञान, सीप र अनुभवलाई विद्यालयको शैक्षिक उन्नतिमा समर्पित गर्ने बताए।
उनले शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिबीचको सहकार्यमा ‘टिमवर्क’ मार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिबद्धता जनाए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले पब्लिक मावि फुस्रेलाई धरानकै नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिँदै कृषि विषयको पढाइ सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। कार्कीले आगामी परीक्षामा विद्यालयको नतिजा ७५ प्रतिशत पुर्याउने लक्ष्यसमेत रहेको बताए।

