
धरान: धरानमा मनाइँदै आएको घिन्ताङघिसी, हिले जात्रा, बाघजात्रा, रोपाइँ जात्रालगायत नेवारी सांस्कृतिक पर्व यस वर्ष भव्य रूपमा मनाउने तयारी गरिए पनि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण अधिकांश कार्यक्रम स्थगित गरिएको छ।
बुधबार पत्रकार सम्मेलन गरी रोपाई जात्रालाई यस वर्षको विशेष आकर्षण बनाउने जानकारी दिएको नेपाल खड्गी सेवा समिति धरानले पुन साझमा पितृ उद्धारका लागि गरिने सामूहिक गाईजात्राबाहेक अन्य सबै जात्रा तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रिय विपद्को अवस्थामा अन्य सांस्कृतिक उत्सव आयोजना गर्नु उचित नहुने भएकाले कार्यक्रम स्थगित गरिएको समितिले जनाएको छ।
समितिका अध्यक्ष मनिष खड्गीका अनुसार श्रावण शुक्ल पूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने नेवारी परम्परागत जात्राहरू यस वर्ष विशेष रूपमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो। तर देशमा राष्ट्रिय विपद्को अवस्था सिर्जना भएकाले कार्यक्रम स्थगित गर्नुपरेको उनले बताए।
यद्यपि, मृतकको आत्माको शान्ति तथा पितृ उद्धारको कामनासहित गरिने सामूहिक गाईजात्रा भने आयोजना गरिने अध्यक्ष खड्गीले बताए। गाईजात्रा दिवंगत व्यक्तिको सम्झना तथा शोकसन्तप्त परिवारप्रति सामूहिक संवेदना प्रकट गर्ने परम्परासँग जोडिएकाले यसलाई निरन्तरता दिइने उनले बताए।
यसअघि समितिले भदौ १३ देखि १७ गतेसम्म घिन्ताङघिसी तथा सामूहिक गाईजात्रा, हिले जात्रा, भानुचोकमा बृहत् रोपार जात्रा, बाघ जात्रा, घोडेजात्रा, क्षमा पूजा तथा मारुनी नृत्यलगायत कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। अब सामूहिक गाईजात्रा मात्र आयोजना हुने र अन्य सबै कार्यक्रम स्थगित भएका छन्।

