
धरान : धरान–८ भोटेपुलस्थित अर्बिन ब्रदर्श अटोले चेतकका दुई नयाँ विद्युतीय स्कुटर सी २५०१ र सी ३५०३ सार्वजनिक गरेको छ ।
बुधबार वरिष्ठ पत्रकार हर्ष सुब्बा र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले संयुक्त रूपमा स्कुटर सार्वजनिक गरेका हुन् ।
बजाज अटो र हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडको सहकार्यमा नेपालमा सार्वजनिक गरिएका यी दुई मोडलको बिक्री धरानबाट पनि सुरु भएको अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले बताए ।
२ दशमलव ५ किलोबाट घण्टा ब्याट्री रहेको सी २५०१ ले एकपटक चार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने र अधिकतम ६० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने कम्पनीले जनाएको छ । यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, ३ दशमलव ५ किलोवाट घण्टा ब्याट्रीयुक्त सी ३५०३ ले एकपटक चार्जमा १५१ किलोमिटरसम्म रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीको दाबी छ । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
दुवै स्कुटरमा एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी र सिटमुनि भण्डारणलगायतका सुविधा छन् । सी २५०१ छ रङ तथा सी ३५०३ चार रङमा उपलब्ध हुनेछन् ।

