
धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा १ “क” कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले नमिता पौडेललाई कार्यसमितिको कोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको छ।
सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभा १ “क”का सभापति सन्तोष लिम्बूको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान सभापति अनिल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। बैठकमा उपसभापति आशिष कटवाल, सहसचिव अर्जुन निरौला र नेबिका शाहीसहित कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकले आगामी मंसिर १९ गते प्रदेश सम्मेलनका सदस्यहरूसहित बृहत् बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ। उक्त बैठकमा संगठनका आगामी गतिविधि, कार्ययोजना तथा पार्टीका सांगठनिक विषयमा छलफल गरिने जनाइएको छ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रदेशसभा १ “क” कार्यसमितिका सचिव युनेस लिम्बूले मंसिर १९ गते प्रदेश सम्मेलनका सदस्यसहित बृहत् बैठक आयोजना गर्ने निर्णय भएको बताए।
नयाँ कार्यसमितिको पहिलो बैठकले कोषाध्यक्ष मनोनयन र आगामी बैठकको मिति तय गरेसँगै कार्यसमितिका गतिविधि अघि बढाउने निर्णय गरेको छ।

