
धरान: कोशी प्रदेशमै पहिलो पटक महिला लागुऔषध दुर्व्यसनीको उपचार, सुधार तथा पुनर्स्थापनाका लागि धरानमा तीनतले आवास गृह निर्माण हुने भएको छ।
धरान उपमहानगरपालिका वडा –६ पानवारीस्थित आसरा सुधार केन्द्रले महिला दुर्व्यसनीका लागि निर्माण गर्न लागेको आवास गृहको बिहीबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले शिलान्यास गरेका हुन्।
शिलान्यास गर्दै डीआईजी खनालले महिला दुर्व्यसनीका लागि सुरक्षित, मर्यादित र लैङ्गिकमैत्री उपचार तथा पुनर्स्थापना सेवाको आवश्यकता बढ्दै गएको बताए।
उनले कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनको समस्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै दुर्व्यसनमा फसेका सबै व्यक्तिलाई कारबाही गरेर मात्रै समस्या समाधान गर्न नसकिने बताए। दुर्व्यसनमा फसेका व्यक्तिलाई उपचार र पुनर्स्थापनामार्फत समाजमा फर्काउन समुदायमा आधारित सुधार केन्द्र आवश्यक रहेकाले पुनर्स्थापना गृहको थालनी गरिएको बताए । उनले भने ‘सुरुवाती चरणमा लागुऔषधको दुर्व्यसनमा फसेका कतिपय व्यक्ति आफैँ पनि पीडित हुन्। उनीहरूलाई उपचारमार्फत समाजमा पुनःस्थापित गराउनु प्रहरी, समाज र राष्ट्र सबैको उद्देश्य हो ।,’
आसरा सुधार केन्द्रले आफ्नो भवनसँगै रहेको जग्गा खरिद गरि २८.२५ धुर जग्गामा महिला आवास गृह निर्माण गर्ने योजना अघि बढाएको हो।
प्रस्तावित आवास गृहमा ५० जना महिलालाई राखेर उपचार, सुधार, सीप विकास तथा पुनर्स्थापनासम्बन्धी सेवा प्रदान गर्ने लक्ष्य रहेको आसरा सुधार केन्द्र सञ्चालक समितिकी अध्यक्ष शिला बज्राचार्यले बताइन्।
बज्राचार्यका अनुसार करिब ३ करोड रुपैयाँ लागतमा तीनतले महिला पुनर्स्थापना आवास गृह निर्माण गरिनेछ। उनले निर्माणका लागि समुदाय, विभिन्न संघसंस्था तथा सहयोगी दाताहरूबाट आर्थिक सहयोगको अपेक्षा गरिएको बताइन्।
आवास गृहको संरक्षकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख रहने तथा सञ्चालक समितिको अध्यक्षमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष रहने व्यवस्था रहेको उनले जानकारी दिइन्।
लागुऔषध दुर्व्यसन व्यक्तिगत समस्या मात्र नभई परिवार, समाज र राष्ट्रकै लागि गम्भीर सामाजिक समस्या रहेको केन्द्रले जनाएको छ। विशेषगरी महिलाहरू दुर्व्यसनमा फस्दा स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र भविष्यमा गम्भीर असर पर्ने भएकाले उनीहरूका लागि छुट्टै पुनर्स्थापना सेवाको आवश्यकता रहेको केन्द्रको भनाइ छ।
आसरा सुधार केन्द्र पानवारीको स्थापना २०७५ चैत १ गते भएको हो। काठमाडौंको महाराजगञ्जस्थित आसरा सुधार केन्द्र रानीवारीको पहिलो शाखाका रूपमा उद्घाटन भएको यो केन्द्र २०८० पुस ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा विधिवत् दर्ता भई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको छ।
समुदाय–प्रहरी साझेदारीको नमुनाका रूपमा रहेको केन्द्र ६ कठ्ठा १८।५ धुर क्षेत्रफलमा फैलिएको छ। गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित केन्द्रमा सुरुमा १०० जना पुरुष दुर्व्यसनीलाई आवासीय उपचार सेवा प्रदान गर्ने क्षमता थियो। भौतिक संरचना विस्तार गरी मुख्य भवनको तेस्रो तलामा हल निर्माण गरेपछि उपचार क्षमता बढाएर १२० जना पुर्याइएको छ।
केन्द्रका अनुसार स्थापनादेखि हालसम्म २ हजार १८७ जना उपचारका लागि भर्ना भएका छन्। तीमध्ये २ हजार १०० जनाले उपचार सेवा पूरा गरी पुनर्स्थापित भएका छन् भने हाल ८७ जना उपचाररत छन्।
नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालन हुँदै आएको केन्द्रको प्रमुख संरक्षकमा संघकी केन्द्रीय अध्यक्ष रहने व्यवस्था छ। संरक्षकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख तथा सञ्चालक समितिको अध्यक्षमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष रहने व्यवस्था रहेको छ।
महिला दुर्व्यसनीका लागि प्रस्तावित आवास गृह निर्माण सम्पन्न भएपछि उनीहरूलाई सुरक्षित वातावरणमा उपचार, सीप विकास र समाजमा पुनःस्थापित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

