
धरान: धरान–८ स्थित नयाँ बसपार्कलाई थप व्यवस्थित बनाउन सुरक्षा निकायको विशेष निगरानी बढाइने भएको छ।
बसपार्क क्षेत्रमा देखिएका विभिन्न समस्या तथा निरन्तर आइरहेका गुनासोलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरेर कडाइ गरिने भएको हो।
सोमबार बिहान धरान उपमहानगरपालिका परिसरमा भएको छलफलमा कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघाले बसपार्क क्षेत्रमा भइरहेको गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
छलफलका क्रममा बेघाले बसपार्कमा देखिएका समस्या पटक–पटक दोहोरिँदै आएको भन्दै अब छलफलमा मात्र सीमित नभई आवश्यक ठाउँमा तत्काल कारबाही अघि बढाउनुपर्ने बताए। अहिले जे भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न कडा कारबाही आवश्यक छ,’ बेघाले भने, ‘बसपार्कका विषयमा निरन्तर गुनासो आइरहेका छन्। त्यसैले अब सम्बन्धित निकायले गम्भीर भएर काम गर्नुपर्छ।’
बसपार्क क्षेत्रमा देखिएका समस्या नियन्त्रणका लागि सुरक्षा निकायले प्रभावकारी निगरानी बढाउँदै आवश्यकताअनुसार कारबाही गर्ने छलफलमा सहभागी सुरक्षा अधिकारीहरूले बताएका थिए।
बसपार्कलाई सुरक्षित र व्यवस्थित बनाउन उपमहानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
छलफलमा धरान इलाका प्रहरी कार्यालयका डीएसपी भीषणबाबु राई, सशस्त्र प्रहरीका डीएसपी गुकेश उप्रेती, ट्राफिक प्रहरी इन्स्पेक्टर अनिल मावो, राजस्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा र प्रशासन महाशाखा प्रमुख बेदप्रसाद लगायतको उपस्थिति थियो।