
बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र नगरपालिका–१, चतरास्थित दुर्वासा वैकुण्ठ मोक्ष घाटमा ६ वटा शवदाह स्थल निर्माण गरिएको छ।
धार्मिक तथा पौराणिक महत्व बोकेको उक्त घाटलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले बराहक्षेत्र नगरपालिकाको योजना तथा मारवाडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र विकास समितिको सहकार्यमा शवदाह स्थलसहित विश्रामस्थल, शौचालय र खानेपानीलगायतका भौतिक संरचना निर्माण गरिएको हो।
निर्माण सम्पन्न शवदाह स्थलको सोमबार धार्मिक विधिअनुसार लोकार्पण गरिएको छ। नेपाल राष्ट्रका प्रथम जगद्गुरु बालसन्त मोहनशरणले दीप प्रज्वलन गरी शवदाह स्थलको उद्घाटन गरेका थिए।
लोकार्पण कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले दुर्वासा वैकुण्ठ मोक्ष घाटलाई व्यवस्थित र आकर्षक बनाउन विभिन्न संघसंस्थासँग सहकार्य गरिएको बताए। घाट क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणसँगै संरक्षण तथा सौन्दर्यकरणका कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ थियो।
नगर प्रमुख कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, प्रदेश योजना आयोगका सदस्य नारायण कोइराला, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि तथा स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
त्यसैगरी बृहत्तर बराहक्षेत्र विकास समितिका अध्यक्ष प्रकाश बस्नेत, मारवाडी सेवा समिति धरानका अध्यक्ष पितरुमल अग्रवाल, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका पदाधिकारी तथा मारवाडी सेवा समिति धरानका पदाधिकारी र सल्लाहकारहरूको समेत सहभागिता थियो।
दुर्वासा वैकुण्ठ मोक्ष घाटमा शवदाह स्थलसहित आवश्यक भौतिक संरचना निर्माण भएपछि अन्त्येष्टिका लागि आउने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनमा घाट क्षेत्रको थप व्यवस्थापन, संरक्षण र सौन्दर्यकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ।

