समाज

वराहक्षेत्र संरक्षण र धार्मिक सर्किट निर्माणको आवश्यकता, पहिरोको जोखिम बढ्दो

बराहक्षेत्र: सुनसरीको वराहक्षेत्र धामलाई धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले विश्वस्तरमा परिचित गराउन संरक्षण, पूर्वाधार विकास र धार्मिक सर्किट निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ। धार्मिक तथा स्थानीय सरोकारवालाले वराहक्षेत्रलाई पुराण, इतिहास र विविध संस्कृतिको संगमस्थलका रूपमा संरक्षण गर्दै पर्यटन प्रवर्द्धनसँग जोड्न राज्यले दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन्।

वराह पुराण, स्कन्द पुराण, महाभारतलगायतका धार्मिक ग्रन्थमा प्रशंसित वराहक्षेत्रलाई भगवान विष्णुको तेस्रो अवतार वराहले रसातालमा पुगेकी पृथ्वीको उद्धार गरेको पवित्र भूमि मानिन्छ। सनातन परम्पराअनुसार यही घटनापछि मानव सभ्यताको विकास आरम्भ भएको विश्वास गरिन्छ। हिन्दू धार्मिक मान्यतासँगै किराँत मुन्दुममा वर्णित मानव सभ्यताको प्रारम्भिक स्थल ‘खुवालुङ’ क्षेत्रसँग पनि वराहक्षेत्र जोडिने भएकाले यो हिन्दू, किराँत र याक्थुङ समुदायको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ। अनादिकालदेखि यहाँ पूजा–आराधना, मेला र धार्मिक अनुष्ठान निरन्तर सञ्चालन हुँदै आएको छ।

वराहक्षेत्रलाई केन्द्रमा राखेर रामधुनी, औलिया गद्दीघर, पिण्डेश्वर, विष्णुपादुका, छिन्ताङदेवी र मैनारानीलगायतका धार्मिक स्थल समेटिएको पञ्चकोशी क्षेत्रलाई सहज सडकमार्फत जोडेर धार्मिक सर्किट निर्माण गर्नुपर्ने माग पनि उठेको छ। यसलाई कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडेर धार्मिक तथा पर्यावरणीय पर्यटनको विकास गर्न सकिने सरोकारवालाको भनाइ छ। स्थानीय उत्पादनको प्रवर्द्धन, अपाङ्गमैत्री संरचना निर्माण, जीर्ण मन्दिरहरूको पुनर्निर्माण तथा पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारीका अनुसार श्वेत वराह कल्पमा भगवान नारायणको तेस्रो अवतार वराहले रसातालबाट पृथ्वीको उद्धार गरेको विश्वासका कारण यो क्षेत्र सनातन धर्मावलम्बीका लागि विशेष पवित्र मानिन्छ। उनका अनुसार भगवान नारायणले पितृको उद्धारका लागि श्राद्ध गरेको स्थल भएकाले वराहक्षेत्रलाई आदि श्राद्धस्थल तथा पहिलो धाम र तीर्थका रूपमा पनि मान्यता दिइएको छ। मन्दिर परिसरमा रहेको ‘चन्दनशिला’मा वराह भगवानको प्राकृतिक आकृति रहेको विश्वास छ, जसलाई पुरातात्त्विक दृष्टिले करिब पाँच हजार वर्ष पुरानो मानिन्छ। साथै वराह भगवान र कोका वराहका मूर्तिहरू नवौँ शताब्दीका रहेको तथ्य पनि रहेको उनले बताए।

भण्डारीका अनुसार वराहक्षेत्रसँग जोडिएका धार्मिक कथा चतराधामस्थित औलिया मठ, रामधुनी र पिण्डेश्वरसँग अभिन्न रूपमा सम्बन्धित छन्। चतरास्थित औलिया मठ च्यादर चढाइने एक मात्र मन्दिरका रूपमा परिचित छ। कार्तिके मेला र मकर सङ्क्रान्तिका अवसरमा लाग्ने विशाल मेलाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उनले बताए। उदयपुरको मैनामैनी क्षेत्रलाई समेत वराहक्षेत्र धार्मिक परिपथसँग जोड्नुपर्ने र त्यहाँ रहेको विशेष शिवलिङ्गले धार्मिक पर्यटनलाई थप टेवा पुग्ने उनको भनाइ छ।

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले वराहक्षेत्र आदि श्राद्धभूमि, धर्तीको पहिलो तीर्थ तथा विश्व सनातन परम्परामा वर्णित चार प्रमुख क्षेत्रमध्ये एक भएको बताए। धार्मिक ग्रन्थले प्रमाणित गरेको यति महत्त्वपूर्ण क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रचारप्रसार हुन नसकेको उनको भनाइ छ। विशेषगरी दक्षिण भारतमा वराह भगवानलाई इष्टदेवताका रूपमा मान्ने ठूलो समुदाय रहेकाले त्यहाँ लक्षित प्रचार गर्न सके वराहक्षेत्रको धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुने उनले बताए।

यसबीच प्राकृतिक जोखिमका कारण वराहक्षेत्रको अस्तित्व नै चुनौतीमा पर्दै गएको स्थानीयको चिन्ता छ। कोका खोला र सप्तकोशी नदीको सङ्गम क्षेत्रमा रहेको डाँडा निरन्तर भत्किँदै गएको छ भने मन्दिर क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ। गत वर्ष मन्दिरकै आन्तरिक स्रोतबाट करिब ३० लाख रुपैयाँ खर्च गरेर संरक्षण पर्खाल निर्माण गरिए पनि जोखिम पूर्ण रूपमा हट्न सकेको छैन। वराहक्षेत्र पुग्ने सडक पनि विभिन्न स्थानमा पहिरोको जोखिममा छ। करिब पाँच दशकअघि सडक सञ्जाल विस्तारको योजना बने पनि कोशी पुलदेखि वराहक्षेत्र मन्दिरसम्मको करिब ३ दशमलव ८ किलोमिटर सडक अझै व्यवस्थित रूपमा निर्माण हुन नसकेको स्थानीयको गुनासो छ। तमोर करिडोरअन्तर्गत धनसार खोला र बाहुनी खोलामा बनेका पुलसमेत पहिरोको जोखिममा रहेको तथा विकास निर्माणका क्रममा खोलाको सतहभन्दा तल पुल निर्माण गरिएकाले समस्या बढेको स्थानीयको आरोप छ।

स्थानीयवासी तथा सरोकारवालाले धार्मिक सम्पदाको संरक्षणलाई राज्यको प्राथमिकतामा राख्न, सुरक्षित सडक, पार्किङ स्थल, तीर्थयात्रीमैत्री पूर्वाधार तथा दीर्घकालीन संरक्षण योजना तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। प्रत्येक वर्ष बढ्दो सङ्ख्यामा भक्तजन आउने गरे पनि त्यसअनुसारको भौतिक पूर्वाधार र संरक्षणको व्यवस्था हुन नसक्दा वराहक्षेत्रको धार्मिक तथा पर्यटन सम्भावना अपेक्षाअनुसार उपयोग हुन सकेको छैन।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले