
धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको व्यक्तित्व, सञ्चार सीप र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ।
गर्मी बिदाको सदुपयोग गर्दै सञ्चालन गरिएको उक्त तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। पाँच दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषणकला, वक्तृत्वकला, औपचारिक कार्यक्रम सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, माइक्रोफोन तथा पोडियमको सही प्रयोग, आवाजको उतारचढाव, मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमका क्रममा विद्यार्थीलाई दैनिक रूपमा मञ्चमा उभ्याएर निरन्तर अभ्यास गराइएको थियो। विशेषगरी “सामाजिक सञ्जाल : चुनौती र अवसर” विषयमा विद्यार्थीले भाषण प्रस्तुत गर्दै आफ्ना विचार स्पष्ट, आत्मविश्वासका साथ र प्रभावकारी शैलीमा अभिव्यक्त गरेका थिए। साथै औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धी सम्पूर्ण प्रक्रियाको प्रत्यक्ष अभ्याससमेत गराइएको थियो।
शुक्रबार समापनका दिन अघिल्ला चार दिनमा सिकाइएका विषयको पुनरावलोकन गर्दै सबै सहभागी विद्यार्थीलाई पुनः व्यवहारिक अभ्यास गराइएको थियो। समापन समारोहमा सहभागी विद्यार्थी सिद्धार्थ श्रेष्ठ र प्रियन्का तामाङले पाँचदिने तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभव साझा गर्दै तालिमले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र नेतृत्व विकासमा उल्लेखनीय सहयोग पुगेको बताएका थिए।
तालिमका सहजकर्ता सञ्चारकर्मी तथा प्रशिक्षक तीर्थ कार्कीले सार्वजनिक रूपमा प्रभावकारी रूपमा बोल्ने क्षमता निरन्तर अभ्यासबाट मात्र विकास हुने भएकाले तालिमभर प्रत्येक विद्यार्थीलाई मञ्चमा उभ्याएर व्यवहारिक अभ्यासमा जोड दिइएको बताए। उनले उद्घोषणकला र नेतृत्व विकासका लागि आत्मविश्वास, स्पष्ट अभिव्यक्ति, सही प्रस्तुतीकरण तथा नियमित अभ्यास अपरिहार्य रहेको उल्लेख गरे।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईका अनुसार सोमबारदेखि सञ्चालन भएको उक्त तालिममा विद्यार्थीले सिकाइसँगै प्रत्यक्ष अभ्यास गर्ने अवसर प्राप्त गरेका छन्।
विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले यस्ता व्यवहारमुखी तालिमले विद्यार्थीको व्यक्तित्व विकास, सञ्चार सीप, नेतृत्व क्षमता तथा सार्वजनिक रूपमा प्रभावकारी रूपमा प्रस्तुत हुने क्षमतामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।


