धरान विशेष

भानुचोकबाट बसपार्क सरेपछि ‘डेथ सिटी’ बनेको भन्दै व्यवसायीको डेलिगेशन


धरान: धरान–८ स्थित सुन्दरबस्तीको नयाँ बसपार्कमा सार्वजनिक सवारी सञ्चालन सुरु भएपछि भानुचोक क्षेत्र सुनसान बन्दै गएको भन्दै स्थानीय व्यवसायीहरूले सोमबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघासमक्ष डेलिगेशन गएका छन्।
व्यवसायीहरूले बसपार्क स्थानान्तरणसँगै भानुचोक ‘डेथ सिटी’ जस्तै बनेको दाबी गर्दै व्यवसायीलाई थप संकटमा नपार्ने गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गरेका हुन्। उनीहरूले बदलिएको यातायात व्यवस्थापनका कारण व्यापारमा प्रत्यक्ष असर परेको भन्दै पहाडी क्षेत्र जाने बस पुनः भानुचोकबाट सञ्चालन गर्न, एकतर्फी (वान–वे) प्रणाली हटाउन, व्यारिकेट हटाउन, भानुचोकमा सवारीसाधन सहज रूपमा आवतजावत गर्ने वातावरण बनाउन तथा यात्रुहरूले बसपार्कसम्म पुग्नुपर्ने बाध्यता हटाई बाटोबाटै यात्रु चढाउन–ओराल्न पाउने व्यवस्था गर्न माग गरेका छन्।
उनीहरूले भित्री रुटमा ई–रिक्सा अटो सञ्चालनको व्यवस्था गर्न तथा हाल लागू गरिएको एकतर्फी सवारी सञ्चालनलाई दुईतर्फी बनाउने वा त्यसबारे पुनः समीक्षा गर्न आग्रह गरेका छन्।
त्यस्तै, दोस्रो माग स्थानीय बासिन्दा तथा व्यवसायीका गुनासा र समस्या समाधानसँग सम्बन्धित छ। व्यवसायीहरूले आफूहरूले भोगिरहेका समस्याको सुनुवाइ गर्दै सम्बन्धित जनप्रतिनिधि र सहजीकरण समितिमार्फत समाधान प्रक्रिया अघि बढाउन माग गरेका छन्।
तेस्रो माग घरबहाल कर तथा घरभाडा व्यवस्थापनसँग सम्बन्धित छ। व्यवसायीहरूले घरबहाल कर तथा घरभाडा लिने–दिने प्रणालीलाई व्यवस्थित गर्न र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्नुपर्ने बताएका छन्।
डेलिगेशनपछि कार्यवाहक नगरप्रमुख बेघाले व्यवसायीको मागलाई सम्बोधन गर्दे व्यवसायीहरूलाई नआत्तिन आग्रह गर्दै भानुचोक क्षेत्रको व्यवसायिक गतिविधिलाई थप चलायमान बनाउने गरी योजना अघि बढाइने बताएका छन्।
उनले भानुचोकलाई व्यापारिक केन्द्र मात्र नभई सांस्कृतिक तथा पर्यटकीय गतिविधिको केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको उल्लेख गर्दै बसपार्क स्थानान्तरणपछि देखिएका समस्याको समाधानका लागि व्यवसायी, जनप्रतिनिधि र सरोकारवालासँग समन्वय गरी आवश्यक निर्णय लिइने बताए।
बेघाले भानुचोक क्षेत्रको व्यवसाय पहिलेभन्दा अझ राम्रो हुने वातावरण सिर्जना गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको दोहोर्याउँदै व्यवसायीका जायज माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।