
धरान: धरान–१८ स्थित डिपोट माध्यमिक विद्यालयले पाँचौं मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपोट बास्केटबल रनिङ कप–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिता साउन १५ देखि १९ गतेसम्म विद्यालयको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल राजकुमार राईले कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार विद्यार्थीभित्र रहेको खेल प्रतिभाको विकास, विद्यालयहरूबीच आपसी सम्बन्ध र सद्भाव अभिवृद्धि तथा धरानमा बास्केटबल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो।
डिपोट शैक्षिक गुठीका सञ्चालक समिति सदस्य तथा शिक्षा उपसमिति संयोजक प्रकाश पन्धाकका अनुसार मेजर लिम्बुले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा १६ वर्ष नेतृत्व गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा उल्लेखनीय योगदान दिएका थिए। उनकै नेतृत्वमा प्लस–टु तह सञ्चालन, डिपोट आदर्श बहुमुखी क्याम्पस स्थापना तथा विद्यालयको समग्र विकासका महत्वपूर्ण काम सम्पन्न भएका थिए।
पन्धाकका अनुसार विद्यालयको नेतृत्व सम्हालिरहेकै बेला कोरोना महामारीका क्रममा २०७८ साल साउन १५ गते मेजर लिम्बुको निधन भएको थियो।
प्रतियोगिता संयोजक खड्ग शमशेर लिम्बुले विजेता टोलीलाई नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए। उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै उत्कृष्ट खेलाडी एमभीपी, उच्च स्कोरर तथा राइजिङ प्लेयरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्राविधिक संयोजन धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघले गर्नेछन्। प्रदेशस्तरीय प्रतियोगिता भए पनि यसमा १६ वटा टोलीलाई मात्र सहभागिताको अवसर दिइनेछ।
प्रतियोगिता सञ्चालनका लागि ३ लाख ३२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम प्रवेश शुल्क, स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको परिवारको मुख्य प्रायोजन, अन्य प्रायोजक तथा विभिन्न दाताको सहयोगबाट व्यवस्थापन गरिने आयोजकले जनाएको छ।
आयोजकले यस प्रतियोगिताले धरानमा बास्केटबल खेलको विकाससँगै डिपोट माध्यमिक विद्यालयलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।


