
क्यानडा: क्यानडाको ब्रिटिस कोलम्बियामा यस वर्ष पहिलो पटक किरात राई समुदायले साकेला सिली प्रदर्शन गरेका छन् ।
मे २३ शनिवार आयोजित कार्यक्रमलाई सो क्षेत्रमा साकेला सिलीको पहिलो सामूहिक प्रस्तुति मानिएको छ ।
बियर क्रिक पार्कमा आयोजित कार्यक्रममा किराँती तथा गैर किराँती समुदायको बाक्लो उपस्थिति रहेको थियो । सामुदायिक रूपमा आयोजना गरिएको कार्यक्रममा त्यहाँका ज्येष्ठ नागरिक अरुण राईलाई फेटा लगाएर सम्मान गरिएको थियो भने किरात राई यायोक्खाका पूर्व महासचिव सोमा राईलाई ‘सांस्कृतिक जागरण योद्धा’को रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक सञ्जय याङबाङका अनुसार विदेशको व्यस्त समयबिच पनि समुदायले साकेला सिलीलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। याङवाङले भने ‘व्यक्तिगत रूपमा रकम सङ्कलन गरेर साकेला नाचमा प्रयोग हुने सांस्कृतिक बाजा नेपालबाट खरिद गरी क्यानडा ल्याइएको हो।’
ब्रिटिस कोलम्बियामा पहिलो पटक आयोजना गरिएको कार्यक्रम सफल बनाउन व्यवस्थापनको जिम्मेवारी अनुदिप देवानले सम्हालेका थिए भने सिलीको नेतृत्व राजेशन राईले गरेका थिए ।
कार्यक्रममा कोलम्बिया विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत अनुदिप देवान र रिस्ता राईले साकेला सिलीको सांस्कृतिक महत्वबारे धारणा राखेका थिए । सहभागीहरूलाई किराँती परम्परागत परिकार चाम्रे, गुन्द्रुकको अचार, वाचिपा तिते र फिलुङ्गेको अचार लगायतका खानाको स्वादसमेत चखाइएको थियो ।
