
धरान: देशीलाइन सडक दुईतर्फी सञ्चालनको माग गर्दै आन्दोलनमा उत्रिएको क्रममा पक्राउ परेका तीन व्यवसायी बिहीबार बेलुका रिहा भएका छन्।
साँझ करिब ६ बजे प्रहरीले पक्राउ गरेका भूपाल राई, कृष्ण वर्णवाल (मिठु) र स्वहेव अन्सारीलाई बेलुका करिब ८ बजे रिहा गरिएको हो।
उनीहरूको रिहाइका लागि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघा, वडा २ का अध्यक्ष रमेश राई, सदस्य सन्ध्या श्रेष्ठ, वडा ३ का सदस्य मिङमा भोटे, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, विष्णु बराल, नवीनराज भण्डारीलगायत जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले प्रहरीसँग वार्ता र समन्वय गरेका थिए।
देशीलाइन सडक दुईतर्फी सञ्चालनको माग गर्दै आन्दोलनरत व्यवसायीहरूले कोशी राजमार्गमा चल्ने सवारीसाधन रोक्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई बिहीबार साँझ नियन्त्रणमा लिएको थियो।व्यावसायीहरुसँग भोली बिहान ७ बजे वार्ता हुने भएको छ ।


