
धरान: महिलाद्वारा सम्पादित र प्रकाशित २२ बर्षदेखि निरन्तर प्रकाशित हुदै आइरहेको दिब्य रोशनी साप्ताहिकले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । शुक्रबार धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने पाँच व्यक्तित्वलाई सम्मान गरिएको छ ।
सम्पादक–प्रकाशक मनिता चाम्लिङ र सागर सिन्जालीद्वारा सञ्चालित पत्रिकाको २२ औं स्थापना दिवसको अवसरमा शिक्षाक्षेत्रबाट पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. ईन्द्र मोहन झालाई दोसल्ला ओढाई अभिनन्दन गरेका थिए।
पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिताबाट कोले न्यूजका संचालक रोहित कुलुङ राई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मानित भए।
यसैगरी पत्रिकाका सम्पादक मनिता चाम्लिङका बुवा क्विन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” द्धारा चिसेफायु अनलाईन मिडियाका निमा पोङसुवा सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मानित भए।
त्यस्तै सोही व्योहराको सम्मानपत्र चलचित्र पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जु राईलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मानित भएकिछिन।
त्यस्तै पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापना गरिएको युवा पत्रकारिता सम्मानबाट ब्लाष्ट टाईम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मा सम्मानपत्र सहित पुरस्कार राशी ५ हजार ५ रुपैयाले सम्मानित भए।
गतवर्ष थाती रहेको पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिता २०८२ बाट नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बो सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मानित भए।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरानको विकास, पहिचान र सुशासन प्रवद्र्धनमा स्थानीय सञ्चारमाध्यमहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले दिब्य रोशनी साप्ताहिकलाई २२ वर्षको निरन्तर यात्राका लागि बधाई दिँदै सञ्चारमाध्यम समाजको सचेत अभिभावक र स्थानीय सरकारका रचनात्मक सहयात्री भएको उल्लेख गरे । उनले सञ्चारमाध्यम समाजको ऐना मात्र नभएर, स्थानीय सरकारका रचनात्मक सहयात्री पनि भएको बताउदै मिडियाले गर्ने स्वस्थ र रचनात्मक आलोचनालाई आफूहरुले सधैँ आत्मसात् गर्दै आएको बताए ।
बेघाले अनेकौँ उतारचढावबीच पनि दिब्य रोशनीले धरानको आवाजलाई निरन्तर मुखरित गरिरहेको भन्दै प्रशंसा गरे। उनले प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय सञ्चार क्षेत्रको प्रवद्र्धनमा धरान उपमहानगरपालिका सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे ।
कार्यक्रमका विशिष्ट अतिथि तथा बरिष्ठ पत्रकार हर्ष सुब्बाले पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमको तीव्र विस्तारले सूचना प्रवाहलाई सहज बनाए पनि विश्वसनीयतामाथि चुनौती थपिएको बताए ।
उनले अहिले सामाजिक सञ्जालमा एउटाले प्रस्तुत गरेको विषयवस्तुलाई अर्कोले बंग्याएर प्रस्तुत गर्दा पाठकहरूमा कुन सत्य हो र कुन भ्रम हो भन्ने छुट्याउन कठिन भएको बताउदै यस्तो अवस्थामा परम्परागत प्रिन्ट मिडियाले पालना गर्दै आएको आचारसंहिता, सन्तुलित प्रस्तुति र विश्वसनीयता नै पत्रकारिताको वास्तविक शक्ति बनेको बताए ।
सुब्बाले दिब्य रोशनी साप्ताहिकले २२ वर्षको यात्रा पार गर्दै प्रिन्ट, अनलाइन र युट्युब प्लेटफर्मलाई सँगसँगै अघि बढाएर बदलिँदो सञ्चार परिवेशअनुसार आफूलाई रूपान्तरण गर्न सफल भएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ, पत्रकारमहासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो।


