
धरान: नेपाली वाइन उद्योगमा मनाङबाट उत्पादन गरिएको ‘मनाङ्ग’ नामक नयाँ ब्रान्ड बुधबार धरानमा सार्वजनिक गरिएको छ ।
हिमाली जिल्लाको अर्गानिक स्याउ र हिमनदीको पानी प्रयोग गरी उत्पादन गरिएको उक्त वाइनलाई धरानमा औपचारिक रूपमा बिक्री–वितरणका लागि खुला गरिएको हो । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ र कोशी प्रदेश मदिरा सङ्घका अध्यक्ष नविन तामाङ ले संयुक्त रूपमा ब्रान्ड सार्वजनिक गरेका थिए ।
मकालु ब्रेभरेज कम्पनीका अनुसार धरानलाई सौखिन उपभोक्ताको शहरका रूपमा हेरिएकाले यहाँबाट बजार विस्तार सुरु गरिएको हो । कम्पनीले ‘मनाङ्ग’ ब्रान्डले नेपाली घरेलु वाइन बजारमा हिमाली स्वाद र स्थानीय उत्पादनको नयाँ पहिचान बनाउने विश्वास व्यक्त गरेको छ ।
यसअघि ‘म्याङ भ्याली’ लगायतका हिमाली वाइन ब्रान्ड चर्चामा रहेका बेला ‘मनाङ्ग’ ले पनि मनाङ क्षेत्रका तीन हजार मिटरभन्दा माथिका बगैंचामा फलाइएका स्याउ प्रयोग गरी उत्पादन गरिएको जनाएको छ ।
नेपालमा पछिल्लो समय स्थानीय फलफूल र जडीबुटीमा आधारित वाइन उत्पादन विस्तार हुँदै गएको छ । किवी, ऐंसेलु, चुत्रो र महुवा जस्ता स्थानीय उत्पादनबाट बनेका घरेलु ब्रान्डहरू बजारमा थपिने क्रम बढ्दो छ ।


