
धरान: यति बेला बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरिका हलमा दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ ।नेपाली बक्स अफिसमा चलचित्रले पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरिसकेको छ ।
नेपालसगै चलचित्र बिहिबार देखि कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ। कतारमा चलचित्रले बिहिबार र शुक्रबार पाएको दुई सो नै हाउसफुल भएको छ।
कतारमा दुई सो नै हाउसफुल हुने पहिलो चलचित्र ‘मन बिनाको धन’ बनेको वितरकले जानकारी दिएका छन् । हरि मोक्तान ,कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले कतार ,युएई र बहराइनमा चलचित्रको वितरणको जिम्मा लिएका हुन् । चलचित्रले युएई र बहराइनमा समेत राम्रो व्यापार गरेको उनीहरुले बताएका छन ।
नेपालमा दर्शकको मन जित्न सफल यस चलचित्रले कतार ,युएई र बहराइन पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । चलचित्र छिट्टै साउदी अरब ,कोरिया लागतको ठाउमा समेत प्रदर्शनमा आउदै छ ।
नेपालमा चलचित्र प्रदर्शनको दिन देखि देशभरिका प्रायजसो हलमा हाउसफुलको व्यापार गरेको छ । चलचित्रलाई दर्शकलाई मन पराएका छन् । हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।
राजधानीमा अशोकलाई भेट्दा दर्शक रुँदै अँगालो हालेको दृश्य देखिएको छ । दर्शकले अशोकलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ । सामाजिक संजालमा धेरै दर्शकले चलचित्रको टिकट नपाएको गुनासो समेत गरेका छन् ।
चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

