
धरान: धरानमा जारी पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन्।
धरान–१६ स्थित रंगशालामा शनिबार साँझ ७ बजे हुने रात्रिकालीन फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्।
शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टोलीले आफ्नो रणनीतिक तयारी पूरा भएको जनाउँदै उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन्।
एपीएफले आफ्नो टोलीमा १३ जना राष्ट्रिय खेलाडी रहेको जनाएको छ। टोलीका कप्तान चोटका कारण फाइनलमा खेल्न नसक्ने भए पनि अन्य खेलाडी उपलब्ध रहेको एपीएफले जनाएको छ। शारीरिक तथा मानसिक रूपमा खेलाडीहरू तयार रहेको भन्दै एपीएफले जितकै लागि मैदानमा उत्रिने बताएको छ।
यता नेपाल पुलिस क्लबले आफ्नो टोलीमा ६ जना राष्ट्रिय खेलाडी रहेको जनाएको छ।अन्तिम प्रशिक्षणपछि टोलीको खेलाडी संरचनामा केही परिवर्तन हुन सक्ने पुलिसले बताएको छ।
पुलिसले एपीएफलाई रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिमा बलियो टोलीका रूपमा विश्लेषण गरेको छ। प्रतिद्वन्द्वीको खेलशैलीअनुसार रणनीति बनाएर मैदानमा उत्रिने पुलिसको भनाइ छ।
दुवै टोलीले एकअर्कालाई पुरानो प्रतिस्पर्धीका रूपमा लिएका छन्। त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने उनीहरूको अपेक्षा छ।
यसैबीच, दुवै टोलीले प्रतियोगिता आयोजना गर्ने डी–१९ क्लब तथा सहयोगीहरूलाई धन्यवाद दिएका छन्। दुवै टोलीका प्रशिक्षकले सीमित स्रोतसाधनका बाबजुद रात्रिकालीन खेल सञ्चालन, व्यवस्थापन र मैदानको मर्मतसम्भार गरिएको प्रयासको प्रशंसा गरेका छन्।
एपीएफका प्रशिक्षक जिवेश कुमार पाण्डेले रात्रिकालीन खेललाई व्यवस्थित गर्न मैदानमा बाँसको सहायताले अस्थायी बत्तीको व्यवस्था गरिएको भए पनि आगामी दिनमा स्थायी फ्लडलाइट जडान गर्नुपर्ने सुझाव दिएका छन्। स्थायी फ्लडलाइटको व्यवस्था भए खेलाडी र दर्शक दुवैका लागि खेलको रौनकता थप बढ्ने उनले बताए।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

