
धरान: विश्व प्राणी दिवसको अवसरमा हेभन्ली पथ धरानले सम्मान तथा अवलोकन कार्यक्रम आयोजना गरेको छ ।
आइतबार धरान–१४ स्थित सोमिच्योङ भवनमा कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमअघि भानुचोकदेखि हेभन्ली पथको भवनसम्म र्याली निकालिएको थियो । र्यालीमा सहभागीले प्राणीप्रति दया, करुणा र सम्मान,जीवजन्तुको संरक्षण तथा मानिस र पशुबीचको सम्बन्ध प्रगाढ बनाउने सन्देशसहितका प्लेकार्ड बोकेका थिए।
कार्यक्रममा बोल्दै राज्यमन्त्री परियारले मानव सेवा तथा उपचाररत बिरामीको हेरचाहका लागि आवश्यक भवन निर्माण गर्न बजेट व्यवस्थापनका लागि पहल र प्रयत्न गर्ने प्रतिबद्धता जनाइन् । उनले हेभन्ली पथले मानव सेवा तथा उपचाररत बिरामीको हेरचाहमा पुर्याउँदै आएको योगदानको प्रशंसासमेत गरिन् ।
हेभन्ली पथका सल्लाहकार शंखधन राईले जनप्रतिनिधि तथा मन्त्रीको सहभागितामा संस्थाको यो पहिलो कार्यक्रम भएको बताए । उनले संस्थाको सामाजिक अभियानमा सहयोग गर्ने जनप्रतिनिधिलाई धन्यवाद दिए ।
कार्यक्रममा हेभन्ली पथका जिल्ला अध्यक्ष चन्द्रबहादुर राईले संस्थाले गर्दै आएको सेवा तथा आगामी योजनाबारे जानकारी गराएका थिए । सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै संस्थाको सेवा गतिविधिको अवलोकनसमेत गरिएको थियो ।
कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेश इवराम, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान–३ की कार्यवाहक वडाध्यक्ष उषा लिम्बू, वडा सदस्य मिङमा भोटे तथा जिल्ला समन्वय समिति सदस्य शेषकुमारी घिमिरेलगायतको उपस्थिति थियो ।

