
धरान: धरान सिटी फुटबल क्लब प्रालिको आयोजनामा ‘दोस्रो धरान सिटी रनिङ कप–२०८३’ फुटबल प्रतियोगिता हुने भएको छ।
क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा आयोजना हुने जानकारी दिएको हो।
प्रतियोगितामा आयोजक धरान सिटी फुटबल क्लब सहित धरानका ९ स्थानीय क्लब सहभागी हुने क्लबका अध्यक्ष विवेक राईले बताए। उनका अनुसार फेयर सिटी क्लब धरान–१७, स्वर्ण क्लब धरान–१०, लिब्जु क्लब धरान–६, धरान शहरी क्लब धरान–८, तेम्बे क्लब धरान–१८, पटनाली क्लब धरान–१७, यालम्बर क्लब धरान–११ र विशेषता क्लब धरान–१६ सहभागी हुनेछन्।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ७५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई समेत पुरस्कार प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गत वर्ष आयोजित पहिलो धरान सिटी रनिङ कपको सफलतापछि प्रतियोगितालाई निरन्तरता दिँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए।

