
धरान : संखुवासभाका १० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य क्षेत्रको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बनेको छ। सेवा प्रवाह,स्वास्थ्य उपकरण, भौतिक पूर्वाधार व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सिलिचोङले ८०.७ अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट स्थानीय तहको स्थान कायम गरेको हो।
स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख महेश भट्टका अनुसार मकालु गाउँपालिका ७९.९ अंकसहित दोस्रो तथा खाँदबारी नगरपालिका ७९.८ अंकका साथ तेस्रो स्थानमा रहेका छन्।
खाँदबारीमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा स्वास्थ्य सूचक विश्लेषण कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूलाई सम्मान गरिएको थियो।
सो अवसरमा सिलिचोङ गाउँपालिकाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले प्रशंसापत्र ग्रहण गरेका थिए। सिलिचोङ गाउँपालिकाले यसअघि पनि लगातार दुई आर्थिक वर्ष स्वास्थ्य कार्यसम्पादनमा पहिलो स्थान हासिल गरिसकेको थियो। यस वर्षको नतिजासँगै गाउँपालिकाले लगातार तेस्रो वर्ष उत्कृष्ट स्थानीय तह बन्ने सफलता प्राप्त गरेको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले स्वास्थ्य सेवाको गुणस्तर सुधार, प्रभावकारी सेवा प्रवाह र स्थानीय तहबीचको स्वस्थ प्रतिस्पर्धाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सकारात्मक वातावरण सिर्जना गरेको बताए ।
स्वास्थ्य निर्देशनालय धनकुटाका वरिष्ठ खोप अधिकृत भरत भण्डारीले स्वास्थ्य सूचकमा थप सुधार ल्याउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालय संखुवासभाले आगामी वर्षहरूमा पनि स्वास्थ्य सूचकमा सुधार, प्रभावकारी सेवा प्रवाह र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
यस्ता मूल्याङ्कनले स्थानीय तहलाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धितर्फ थप जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।
जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा सुधार ल्याउने उद्देश्यसहित १६ बुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।


