
धरान: हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले २१२ औँ भानु जयन्तीको अवसरमा सोमबार (असार २९ गते) विद्यालयको सभाहलमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै नेपाली भाषा, साहित्य र सिर्जनाप्रतिको सम्मान व्यक्त गरेको छ।
प्रतियोगितामा सिनियर र जुनियर गरी ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो। सिनियरतर्फ समीक्षा राई प्रथम, युमिना राई द्वितीय र सेसेमा लिम्बू तृतीय भए। त्यसैगरी जुनियरतर्फ प्रनिता तामाङ प्रथम, सुमिना राई द्वितीय तथा निश्चल मगर तृतीय स्थान हासिल गर्न सफल भए।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषी राई र विद्यालयकी शिक्षिका प्रज्वलिता श्रेष्ठले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए।
यस अवसरमा विद्यार्थी सिद्धार्थ श्रेष्ठ र युबिका राईले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यमा पुर्याएको अतुलनीय योगदानबारे चर्चा गरेका थिए।
प्रमुख अतिथि जनकऋषी राईले सानै उमेरदेखि आत्मविश्वासका साथ मञ्चमा उभिएर कविता प्रस्तुत गरेको देख्दा खुसी लागेको बताउँदै विद्यार्थीहरूलाई निरन्तर सिर्जनशील बन्न प्रेरित गरे। उनले कविता लेख्दा अभिभावक वा कृत्रिम बुद्धिमत्ता (एआई) को सहाराभन्दा आफ्नै सिर्जना प्रस्तुत गर्न सके मात्र वास्तविक प्रतिभा उजागर हुने उल्लेख गर्दै आगामी दिनमा मौलिक सिर्जनामा जोड दिन सुझाव दिए।
कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले विद्यालयले विद्यार्थीहरूको व्यक्तित्व, नेतृत्व क्षमता र सिर्जनशीलता विकासका लागि नियमित रूपमा विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। आदिकवि भानुभक्त आचार्यको योगदानप्रति सम्मान व्यक्त गर्दै विद्यार्थीमा नेपाली भाषा र साहित्यप्रतिको रुचि बढाउने उद्देश्यले कविता वाचन प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।
कार्यक्रमको सञ्चालन शिक्षक नयनराज राईले गरेका थिए।


