सहित्य/सिर्जना

धरानमा सुवास अधिकारीको ‘नो सिग्नल’ माथि परिचर्चा, मानवीय सम्बन्धको गहिराइबारे विमर्श


धरान: नाटककार सुवास अधिकारीको नाट्यकृति ‘नो सिग्नल’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम आइतबार धरानमा सम्पन्न भएको छ।
धरान रिडर्स ग्रुपको आयोजनामा भएको कार्यक्रममा नाट्यकृतिमाथि समीक्षात्मक विमर्श गरिएको थियो।
उपप्राध्यापक राजेश विद्रोहीले कृतिको पाठकीय दृष्टिकोण प्रस्तुत गर्दै ‘नो सिग्नल’ न्यून पात्र र सीमित मञ्चीय संरचनामा प्रस्तुत गर्न सकिने सशक्त नाटक भएको बताए।
विद्रोहीले नाटकमा चार मुख्य पात्र र दुई मञ्चीय पात्र छन् भने सम्पूर्ण कथा एउटै सेटमा प्रस्तुत गर्न सकिने गरी संरचित रहेको बताए। छोटा,आत्मलापयुक्त र रोचक संवादमार्फत जीवनको एक्लोपन, जटिलता र अस्तित्वबोधलाई प्रभावकारी ढंगले अभिव्यक्त गरिएको उनको भनाइ थियो।
विद्रोहीले विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानवीय सम्बन्धको आवश्यकता कहिल्यै समाप्त नहुने सन्देश नाटकले दिएको बताए। संवादभित्र जीवनको अर्थ खोज्ने प्रयास, जीवनको शून्यता, जीवन्त सम्बन्धको अपेक्षा तथा आधुनिकताले मानिसको एक्लोपन र छटपटी मेटाउन नसक्ने यथार्थलाई कृतिले सशक्त रूपमा उठाएको उनको धारणा थियो। उनका अनुसार ‘नो सिग्नल’ सामान्यभन्दा बढी बौद्धिक तयारी भएका पाठक तथा दर्शकले अझ गहिरोसँग ग्रहण गर्न सक्ने कृति हो।
कार्यक्रममा शिल्पी थिएटर, काठमाडौंका परिकल्पनाकार, नाट्यसर्जक तथा निर्देशक घिमिरे युवराजले नाटकको समालोचनात्मक समीक्षा प्रस्तुत गर्दै यसको केन्द्रमा मानवीय सम्बन्ध र संयोग रहेको बताए।
उनले नाटकका पात्रहरूले ‘रेन्डम्ली’ डायल गरेका फोनहरू वास्तवमा मानिसको जीवनमा आउने अदृश्य संयोगका प्रतीक भएको उल्लेख गरे। नाटककारले एउटा कोठाभित्रै पूँजीवादले निर्माण गरेको मध्यमवर्गीय समाजको मनोविज्ञान र परिस्थितिलाई प्रभावकारी रूपमा चित्रण गर्न सफल भएको उनको भनाइ थियो।
युवराजले वैचारिक पक्ष सचेत र अवचेतन दुवै तहबाट अभिव्यक्त भएको उल्लेख गर्दै नाटककी महिला पात्रले पुरुषप्रधान समाजमा आफ्नो अस्तित्व स्थापित गर्ने संघर्षको प्रतिनिधित्व गरेको बताए। पोस्टम्यान पात्र बाह्य रूपमा केही सामग्री बोकेर आउने पात्र जस्तो देखिए पनि प्रतीकात्मक रूपमा जीवनका अनेक आयाम बोकेको पात्रका रूपमा प्रस्तुत गरिएको उनको विश्लेषण थियो। नाटकमा जीवनको निस्सारता, सम्बन्धको खोजी र सम्बन्धका ‘सिग्नल’ स्थापित गर्न पात्रहरूले गरेको संघर्षलाई बिम्बात्मक शैलीमा प्रस्तुत गरिएको उनले बताए।
धरान रिडर्स ग्रुपका अध्यक्ष रञ्जु लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले ‘नो सिग्नल’ ले आधुनिक जीवनशैली, एक्लोपन, सम्बन्धको संकट र मानवीय संवेदनालाई नाटकीय भाषामार्फत गहिरोसँग प्रस्तुत गरेको धारणा व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान