
धरान: धरानमा जारी मेयर कप स्कुल ओलम्पिक २०८३ अन्तर्गत भलिबल प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय धरान–११ ले पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताको पहिलो स्वर्ण जित्दै ज्ञानोदयले स्कुलओलम्पिकमा सानदार जितको सुरुवात गरेको हो।
आइतबार सम्पन्न फाइनलमा ज्ञानोदयले पब्लिक माध्यमिक विद्यालय फुस्रेलाई सोझो सेटमा २५–१९ र २५–१२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो।
यसअघि क्वाटरफाइनलमा ज्ञानोदयले नेपाल पुलिस स्कुललाई २५–१३, २२–२५ र १५–१२ को प्रतिस्पर्धात्मक सेटमा हराएको थियो। सेमिफाइनलमा शिक्षा सदन माध्यमिक विद्यालय धरान–१५ लाई २५–२३ र २५–२२ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
फाइनलमा पराजित पब्लिक माध्यमिक विद्यालय फुस्रे उपविजेतामा सीमित बन्यो। पब्लिकले सेमिफाइनलमा सैनिक आवासीय माध्यमिक विद्यालयलाई २५–२३, १६–२५ र १५–११ ले हराउँदै उपाधि भिडन्त तय गरेको थियो।
प्रतियोगितामा सैनिक आवासीय माध्यमिक विद्यालय धरान–१३ र शिक्षा सदन माध्यमिक विद्यालय धरान–१५ ले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन।
क्वाटरफाइनल चरणमा आइडियल स्कुललाई हराउँदै पब्लिक माध्यमिक विद्यालय, फुस्रे सेमिफाइनल पुगेको थियो भने शिक्षा सदनले युनाइटेड गोर्खा एकेडेमीलाई तथा सैनिक आवासीय माध्यमिक विद्यालयले साकेत सेकेन्डरी स्कुललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए।
भलिवलमा धरानभरका १४ विद्यालय सिद्धार्थ शिशु, सैनिक आवसिय , पब्लिक फुस्रे, पब्लिक हाईस्कुल, ज्ञानोदय मावि, धरान मेघा हिमालय, नेपाल पुलिस,शिक्षा सदन, समिट सेकेन्डरी, युनाईटेड गोर्खा, आईडियल ईमानुयल, पञ्चकन्या,लिवट्रीको सहभागीता रहेको थियो ।
मेयर कप स्कुल ओलम्पिक २०८३ अन्तर्गत विभिन्न विधाका प्रतियोगिता जारी रहेका छन्। पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदै ज्ञानोदय माध्यमिक विद्यालयले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
यस्तै धरानमा जारी मेयर कप स्कुल ओलम्पीक –२०८३ अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता समेत सुरु भएको छ।
धरान–१३ स्थित अमर सेवा समाजको ब्याडमिन्टन हलमा सुरु भएको प्रतियोगितामा धरानभरका २२ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
विद्यालयस्तरीय खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका खेलहरू निर्धारित तालिकाअनुसार सञ्चालन भैरहेको छ ।


