
धरान: छ वर्षपछि पुनः सुरु भएको तेस्रो संस्करणको मेयर कप–धरान स्कूल ओलम्पिक अन्तर्गत फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पब्लिक स्कुल धरान–१२ ले विजयी सुरुआत गरेको छ।
शनिबार धरान रंगशालामा भएको उद्घाटन खेलमा पब्लिक स्कुलले धरान आदर्श विद्यालय धरान–१ लाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुआत गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा पब्लिक स्कुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। पब्लिक स्कुलका रिकजन शेर्पाले खेलको दोस्रो आफको ३ औ मिनेट र १८औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि सिद्धान्त तामाङले दोस्रो हाफको ३४औं मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे।
धरान आदर्शले खेलमा फर्कने प्रयास गरे पनि पब्लिक स्कुलको बलियो आक्रामक खेलका कारण गोल गर्न सकेन। खेलको ६३औं मिनेटमा धरान आदर्शका सन्देश खड्काले रातो कार्ड पाएपछि आर्दशले १० खेलाडीमा सीमित बनेको थियो।
प्रतियोगिताको फुटबल विधामा धरानका निजी तथा सामुदायिक गरी २९ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विष्णु मेमोरियल, पब्लिक स्कुल, धरान लिगामेन्ट, श्री माध्यमिक विद्यालय, पञ्चायत दन्तकाली, ज्ञानोदय स्कुल, ल्याबोरेटरी मावि, सैनिक आवासीय मावि, ज्वालामुखी मावि, पब्लिक मावि फुस्रे, भानुस्मृति मावि, हिविस्कस स्कुल, डीपी विल्बर्स, होलील्यान्ड इन्टरनेशनल, सुनाखरी एकेडेमी, डिपो मावि, नवोदय विद्यामन्दिर, ज्ञानकुञ्ज आवासीय स्कुल, प्रभात स्कुल, युनाइटेड गोर्खा एकेडेमी, नोबेल एकेडेमी, मेघा हिमालय स्कुल, नेपाल पुलिस स्कुल, पञ्चायत मावि, समिट मावि, धरान मोडल स्कुल, देउराली चिल्ड्रेन एकेडेमी, सेन्ट जोसेफ स्कुल र जेम सेकेन्डरी स्कुल सहभागी छन्।
धरान खेलकुद मञ्चको आयोजनामा सञ्चालन भइरहेको तेस्रो धरान स्कूल ओलम्पिकअन्तर्गत फुटबलसहित विभिन्न खेलहरु क्रिकेट,भलिबल, सितेरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, सेपाक ताक्रो,उसु र ब्याडमिन्टन प्रतियोतिा समावेश रहेका छन ।


