सहित्य/सिर्जना

कवि बम देवानको कविता सङ्ग्रह ‘मनका छालहरू’ लोकार्पण


धरान: कवि बम देवानको नयाँ कविता सङ्ग्रह ‘मनका छालहरू’शनिबार धरानमा लोकार्पण भएको छ।
कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा कवि देवानको नवीनतम कृति सार्वजनिक गरिएको हो। यसअघि उनका ‘हाम्रो गीत हाम्रो आवाज’ र ‘आगोको खेती’ प्रकाशित भइसकेका छन्।
१७० पृष्ठको ‘मनका छालहरू’मा कवि देवानले अस्तित्वबोधी चेतना, युगीन यथार्थ, जातीय तथा सांस्कृतिक चेतना, समकालीन समाज र मानिसका अन्तदन्द्वलाई कविताको मूल विषय बनाएका छन्। उनका कवितामा युगीन विसङ्गतिमाथि तीव्र व्यङ्ग्य प्रहार, पौराणिक मिथकको समकालीन पुनर्पाठ तथा सामाजिक राजनीतिक विकृतिमाथि आलोचनात्मक दृष्टि प्रस्तुत गर्ने विशेषता देखिन्छ।
कृति लोकार्पण समारोहमा कविता सङ्ग्रहबारे डाक्टर अस्मिता बिष्ट र डाक्टर तुलसी गौतमले समीक्षा तथा परिचर्चा गरेका थिए।
डाक्टर गौतमले साहित्यकार बम देवानका कृतिहरूले उनको बहुआयामिक व्यक्तित्व, जीवनदर्शन र प्रगतिशील चेतनालाई उजागर गरेको बताए। धरानमा एक स्थापित र लोकप्रिय राजनीतिक नेताका रूपमा परिचित भएपनि उनका साहित्यिक कृतिहरूले वैचारिक गहिराइ, सामाजिक दृष्टिकोण र सांस्कृतिक चिन्तनलाई थप स्पष्ट बनाएको उनको भनाइ थियो।
उनले पछिल्लो समय प्रगतिशील र साम्यवादी दाबी गर्ने राजनीतिक दलहरू आफ्नै मूल विचार र सिद्धान्तबाट विचलित हुँदै गएको अवस्थाप्रति देवानका कवितामा तीव्र असहमति, व्यङ्ग्य र आक्रोश अभिव्यक्त भएको उल्लेख गरे। देवानको विश्वास नेता वा सांसदमा नभई जनताको चेतनामा केन्द्रित रहेको भन्दै उनले साम्यवाद र समाजवादलाई सार्वकालिक र सार्वभौमिक मानवीय आदर्शका रूपमा प्रस्तुत गरेको बताए।
गौतमका अनुसार देवानको साहित्यिक चेतनाको प्रारम्भिक निर्माणमा बाल्यकालीन सांगीतिक परिवेशले महत्वपूर्ण भूमिका खेलेको थियो। संखुवासभाको चैनपुर क्षेत्रमा बिताएको समय, धाननाचमा गाइने ‘पालम’को लय, गोठाले गीत, रसिया, बालन र रत्यौलीजस्ता लोकभाकाले उनको कवि मनलाई गहिरो प्रभाव पारेको थियो।
त्यस्तै, महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा समकालीन कवि गोविन्द विकल र मञ्जुल को संगत तथा क्याम्पसका प्रगतिशील साहित्यिक गतिविधिले उनको साहित्यिक व्यक्तित्वलाई थप परिपक्व बनाएको बताए।
उनको कृति आगोको खेती मा ‘प्रौढ चेतना’को सशक्त अभिव्यक्ति रहेको उल्लेख गर्दै गौतमले गाउँघरका पुराना बाजा, संगिनी, बालन र मौलिक संस्कृति नै समाजको वास्तविक पहिचान र स्थायी सम्पत्ति रहेको बुझाइ कृतिमा अभिव्यक्त भएको बताए। हजुरबा र नातिको संवादमार्फत नयाँ पुस्तालाई मौलिक संस्कृति, रैथाने ज्ञान र पहिचान संरक्षणको सन्देश दिएको उनको भनाइ थियो।
यसैबीच,डाक्टर अस्मिता बिष्टले बम देवान धरानका एक आदरणीय, निष्ठावान र लोकप्रिय राजनीतिक व्यक्तित्व भएको उल्लेख गर्दै उनले जीवनभर समाज परिवर्तन र प्रगतिशील विचारधाराको वकालत गरेको बताइन्। उनका अनुसार देवानको साहित्यिक यात्रा र वैचारिक विकासमा धरानको शैक्षिक तथा साहित्यिक परिवेशको महत्वपूर्ण योगदान रहेको बताईन ।

कार्यक्रमको अध्यक्षता कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष, प्राध्यापक तथा कवि राजेश विद्रोही ले गरेका थिए। कार्यक्रममा साहित्यकार, प्राध्यापक, राजनीतिक व्यक्तित्व, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान