
धरान: मदन भण्डारी मेमोरियल पहिलो सुनसरी जिल्ला अन्तरक्लब महिला फुटबल कप–२०८३ अन्तर्गत शनिबार सम्पन्न सेमिफाइनल खेलमा धरान लेडिज फुटबल टिम फाइनलमा प्रवेश गरेको छ।
धरान–१६ स्थित रङ्गशालामा धरान सिटी फुटबलको आयोजनामा जारी प्रतियोगितामा धरान लेडिजले स्वर्णिम फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा धरान लेडिजका सिम्रन राई, नेहान चौधरी, आयुष राई, बिजेत राई र कमिक्षा मगरले सफल प्रहार गर्दै गोल गरे। रोशनी लिम्बुको प्रहार भने गोलमा परिणत हुन सकेन।
स्वर्णिम फुटबल क्लबका प्रियङ्का मगर, प्रतिमा लिम्बु र अम्बिका लिम्बुले गोल गरे पनि प्रोमिशा कार्की, कल्पना मगर र प्रमिका क्षेत्रीको प्रहार सफल हुन नसक्दा टोली फाइनल यात्राबाट वञ्चित बन्यो।
यस अघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा फेयर फुटबल क्लबले न्यु स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
प्रतियोगिताको विजेताले ८१ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेताले ४१ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले ४ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


