
धरान: धरान-१२ स्थित मेघा हिमालयन कलेजले विभिन्न प्रतिभा प्रतियोगिताका विजेताहरूलाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ।
बिहीबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा मिस एसईई २०८३ की विजेता स्टेला श्रेष्ठ, सेकेन्ड रनरअप स्वस्ती अधिकारी र पब्लिक चोइस अवार्ड विजेता सुप्रभा पाण्डेलाई सम्मान गरिएको थियो। त्यसैगरी मिस प्रोभिन्स आइडल–२०८३ का विजेता स्वर्णिम थापा मगर र फस्ट रनरअप मुस्कान राईलाई पनि सम्मान गरिएको कलेजले जनाएको छ।
कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे, उप–प्राध्यापक राजेश विद्रोही तथा होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालले विजेताहरूलाई अबिर र खादा लगाएर सम्मान गरेको थियो।
शैक्षिक निर्देशक घिमिरेका अनुसार मिस एस.ई.ई. विजेता स्टेला श्रेष्ठ र मिस प्रोभिन्स आइडल विजेता स्वर्णिम थापा मगरलाई प्लस टु अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ। अन्य तीन जनालाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको उनले जानकारी दिएको छ।
प्रतिभावान विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सम्मानसँगै छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ।


