
धरान: श्रमदान कार्यक्रममा सहभागी हुन नसकेका घरधुरीहरूसँग नगद १ हजार रुपैयाँका दरले सहयोग रकम संकलन गरेको विषय विवादमा आएपछि देउराली क्षेत्रको सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याख्खासहित सम्पूर्ण पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष याख्खाले श्रमदानमा सहभागी हुन नसकेका सदस्यहरूबाट रकम उठाउने निर्णय गलत भएको स्वीकार गर्दै त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिएको बताए।
उनले देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति समुदायको साझा गौरव, एकता र सामूहिक श्रमको प्रतीक भएको उल्लेख गर्दै विगतदेखि खानेपानी ट्यांकी निर्माण, पाइपलाइन विस्तारलगायतका विभिन्न श्रमदान कार्यक्रमहरूमा टोल विकास संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। हालै पानमारा जंगल क्षेत्रमा रहेको डिप बोरिङ पाइपलाइन विस्तार कार्यमा पनि सयौं स्थानीयको सहभागिता रहेको उनको भनाइ थियो।
याख्खाका अनुसार श्रमदानमा सहभागी हुन नसकेका सदस्यहरूबाट संकलन गरिएको रकम सिसिटिभी मर्मत तथा ग्रास कटर खरिदजस्ता सामुदायिक प्रयोजनका काममा खर्च गर्ने उद्देश्य राखिएको थियो। तर उक्त निर्णयले समुदायमा असहजता सिर्जना गरेपछि आत्मसमीक्षा गर्दा निर्णय उचित नभएको निष्कर्षमा पुगिएको उनले बताए।
याख्खाले भने“असल उद्देश्यका साथ लिइएको निर्णय गलत सावित भयो,नेतृत्वको हैसियतले यस निर्णयको सम्पूर्ण नैतिक जिम्मेवारी म स्वयं ग्रहण गर्दछु।”
उनले हालसम्म ८८ घरधुरीबाट संकलन गरिएको रकम सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गरिने जानकारी दिए। रकम फिर्ता गर्नु केवल आर्थिक विषय नभई आफ्नो कमजोरी स्वीकार गर्ने साहस, आत्ममूल्याङ्कनको संस्कार र समुदायप्रतिको सम्मानको प्रतीक भएको उनको भनाइ छ।
समुदायको विश्वासमा आँच पुगेको महसुस गर्दै संस्थाको गरिमा, नैतिकता र स्वाभिमानलाई सर्वोपरि राखेर आफूहरूसहित सम्पूर्ण पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएको याख्खाले बताए।
उनले आफ्नो नेतृत्वको दुई कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण पदाधिकारी तथा करिब ४५० सदस्य परिवारप्रति आभार व्यक्त गर्दै पदमा नरहे पनि समुदायको हित, विकास र सेवामा निरन्तर साथ रहने प्रतिबद्धता जनाए।
श्रमदानमा सहभागी नभएका सदस्यहरूसँग १ हजार रुपैयाँ सहयोग रकम संकलन गरिएको विषय सार्वजनिक भएपछि त्यसको वैधानिकता र औचित्यमाथि प्रश्न उठेको थियो। विवाद चर्किएसँगै संस्थाले निर्णय सच्याउँदै रकम फिर्ता गर्ने र नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिने निर्णय गरेको हो।


