
धरान: शनि मन्दिरप्रतिको आस्था सर्वसाधारणप्रति बढ्दै गएकोले यहाँ आउने भक्तजनहरुको सुविधालाई मन्दिर व्यवस्थापन पक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
श्री महांकल शनिदेव मन्दिर सञ्चालक समितिको २३ औं साधारणसभामा सहभागीहरुले यस्तो बताएका हुन् ।
धरान १२ गीत मन्दिरमा आयोजित साधारणसभामा धरानका जनप्रतिनिधि, सर्वसाधारण, विशिष्ट व्यक्तित्व तथा समितिमा आवद्ध रहेकाहरुले शनि मन्दिरमा आउने भक्तजनहरुको सुविधालाई बढी प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।
सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले शनि मन्दिरप्रतिको अस्था सर्वसाधारणमा बढ्दै जाँदा यहाँ भक्तजनहरुको आगमनमा वृद्धि भएको बताउदै यसतर्फ व्यवस्थापन समितिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समय समयमा हुने विवादको समेत सधै अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै धरान उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर राईले शनि मन्दिरको व्यवस्थापनमा क्रमिक सुधार हुदै गए पनि यो समितिले अझै धेरै काम गर्न बाँकी रहेको बताउदै समितिलाई स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।
अहिले यो मन्दिर परिषरमा भक्तजनहरुका लागि खानेपानीको सुविधा, शौचालयको सुविधा लगायतका विभिन्न भौतिक संरचना निर्माण भइसकेका छन् ।
समितिका अध्यक्ष राजकुमार निरौलाको अध्यक्षतामा भएको साधारणसभाका अवसरमा धर्ममा आस्था राख्ने सर्वसाधारण, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।