धरान: याक्थुङ चलचित्रकर्मी सङ्घले आगामी मंसिर १८ गते मंलबार “याक्थुङ सिने अवार्ड २०८१” धरानमा आयोजना गर्ने भएका छन।
सङ्घद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा याक्थुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा पहिलो पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको सङ्घका अध्यक्ष नवीन मेन्याङवोले बताए ।
समारोहमा अवार्ड वितरण सँगै चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने छ ।
फिचर चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने छ ।
लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ । अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने बताइएको छ ।
नियमहरू सर्तहरू अन्तर्गत रही मङ्सिर ५ गतेसम्म फारम र चलचित्र बुझाउनु पर्नेछ । फिचर फिल्मको हकमा दर्ता शुल्क एक हजार, लघु चलचित्रको हक पाँच सय बुझाउनु पर्ने बताइएको छ । आयोजकले निर्धारण गरेको नीति नियम बमोजिम अवार्ड प्रदान हुनेछ ।
फिचर फिल्मको हकमा चलचित्र विकास बोर्डमा दर्ता र सेन्सर पास भएको हुनुपर्नेछ । फिचर फिल्म वा लघु चलचित्र याक्थुङ लिम्बू सांस्कृतिक अथवा मातृभाषामा २०७९ देखी २०८१ भित्रका चलचित्रलाई मात्र अवार्डमा समावेश गरिने छ ।अवार्ड वितरणमा निर्णायक मण्डलले गरेको निर्णय अन्तिम हुने अध्यक्ष मेन्याङवोले बताए ।
उनले भने ‘याक्थुङ चलचित्रको प्रचार प्रसार, बजारीकरण र चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’ यसबाट याक्थुङ कला, संस्कृतिको संवर्धन, प्रवर्द्धन र स्थानीय क्षेत्रहरूको पर्यटन विकास गर्ने विश्वास गरिएको छ । समारोहमा नेपालका प्रतिष्ठित कलाकारहरूको सहभागी हुने उनले बताए ।