
धरान: किरात राई पत्रकार संघ सुनसरीको छैठौं अधिवेशन सम्पन्न भएको छ। शुक्रबार धरानमा आयोजित अधिवेशनमा संघले धरानका दुई पत्रकारलाई पुरस्कृत गरेको छ।
अग्रज पत्रकार जनकऋषि राईलाई नगद १० हजार ५ सय ५ रुपैयाँसहित चन्द्रकला राई स्मृति पत्रकारिता सम्मान पुरस्कार प्रदान गरिएको छ।
यस्तै, गोरखापत्र दैनिकमा कार्यरत पत्रकार निशा राईलाई नगद ७ हजार ५ सय ५ रुपैयाँसहित विद्याकुमारी राई स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
विद्याकुमारी राई स्मृति पुरस्कार पाँच वर्षअघि किरात राई यायोक्खा धरान–१३ प्रारम्भिक कमिटीका सदस्य कुमार राईले स्थापना गरेका हुन्। चन्द्रकला राई स्मृति पुरस्कार यायोक्खा धरान–१३ प्रारम्भिक कमिटीका अध्यक्ष श्रीपाल राईले स्थापना गरेका हुन्।
पुरस्कृत पत्रकारद्वयलाई किरात राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विशाल राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले पुरस्कार तथा सम्मानपत्र प्रदान गरे।
कार्यक्रममा प्रमुख अतिथि विशाल राईले पहिचानलाई आत्मसात गर्दै सिर्जनशील पत्रकारिताको धर्म निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गरे। उनले धरान किरात राई पत्रकारहरूको उर्वर भूमि भएको उल्लेख गर्दै पहिचानका क्षेत्रमा पत्रकारबाट थप योगदान पुग्ने विश्वास व्यक्त गरे।
अधिवेशनमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायतले शुभकामना दिएका थिए। कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष सन्जु राईले गरेकी थिइन् भने सञ्चालन स्मारिका राईले गरेकी थिइन्।

