धरान: चतराघाट क्षेत्रमा सञ्चालन भएका पेडा पसलहरुमा वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले अनुगमन गरेको छ । वराहक्षेत्र नगरपालिकाले वडा नं. १ कोशीपुल , चतराघाट सञ्चालन भएका पेडा पसलमा नगरपालिकाले बुधवार अनुगमन गरेको हो ।
पेडा पसलबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु , शुद्बता , कानुनी प्रमाणसंगै होटलको सरसफाई , भान्सा , खाद्यवस्तुको मूल्य बढी, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेको हो । चतराघाट क्षेत्र पर्यकीय तथा पेडा कोसेलीका लागि प्रसिद्ब भएकाले अनुगमनलाई प्रभावकारी बनाउन नगरपालिका सक्रिय भएको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
उनका अनुसार पसलबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा अनुमन गरि म्याद नाघेका बस्तुको नष्ट र नियम बिपरित सञ्चालन भएका पसललाई जरिवाना समेत गरिएको थियो ।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय अधिकारीहरु , सुनसरी उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण प्रसाद कट्टेल , नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।