
धरान: रसुवा भोटेकोशी महाविपत्तिमा दिवंगत भएकाहरूको मुक्ति एवं बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि सुनसरीका विभिन्न स्थानमा धार्मिक पाठ पारायण भएको छ । ब्राह्मण समाज नेपाल सुनसरी र वैदिक कर्मकाण्ड परिषद् सुनसरीको आयोजनामा सोमबार सुनसरीका विभिन्न मन्दिरहरूमा भेला भएर सामूहिक पाठ गरिएको हो ।
सोमबार सरकारले सो घटनाको स्मरणमा शोक दिवस घोषणा गरेको छ । शोक दिवसको अवसर पारेर ब्राह्मणहरूद्वारा यथाशक्ति श्रीमद्भागवत, गीता, पञ्चशुक्त, विष्णु सहस्त्रनाम, गजेन्द्र मोक्ष पाठ गरेका थिए । धरानको गीता भवनमा यसरी सामूहिक पाठ र जप गरिएको थियो भने इटहरीको आँपगाछी, खनारको शिव मन्दिर, झुम्का, इनरुवाको मधेसा र बराहक्षेत्रमा समेत यसरी पाठ गरिएको थियो । ब्राह्मण समाज र वैदिक कर्मकाण्ड परिषदका सदस्यहरू आफै उपस्थित भएर आ-आफैले यसरी पाठहरू र जपहरु गरेका हुन् । उक्त अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मौनधारण समेत गरिएको थियो ।
सोमबार साँझ इटहरीको तरहराको शिव मन्दिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम सम्पन भएको छ ।

