
इटहरी उपमहानगरपालिकाको बजेट एमालेकै बहुमत सदस्यको समर्थनमा ३ अर्ब ५७ करोड ८४ लाख ५० बजेट पारित भएको छ। नेकपा एमालेसँग नौ बुँदे सहमति भएपछि सो बजेट पास भएको हो।
असार १० गते सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको छ ।
एमाले नगर अध्यक्ष रुपेश बस्नेतका अनुसार मेयर हेमकर्ण पौडेल सँग नौ बुँदे सहमति भएपछि बजेट पास भएको हो । विगतमा जस्तो तोक आदेशमा रकम वितरण नगर्ने लगायत सहमति भएको र कतिपय विषय ऐनमै समेटिएको उनको भनाइ छ ।
उपमेयर सङ्गीता चौधरीले असन्तुष्टि देखाउँदै अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका हुन् ।
पारित भएको बजेटमा सङ्घीय समानिकरण अनुदान २९ करोड ५६ लाख, सङ्घीय ससर्त अनुदान चालु तर्फ ४९ करोड ४३ लाख र सङ्घीय ससर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपूरक अनुदान ४ करोड, सङ्घीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो ।
प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख , प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुँजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपूरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।
सङ्घीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो ।
चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात् कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तीय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात् कुल बजेटको ०.२५ प्रतिशत र पुँजीगत तर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ। जस मध्ये विषयगत तर्फ ३० करोड, वडा सीमा तर्फ ३८ करोड, नगर स्तरीय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।