
धरान: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिको बैठक शनिबार पार्टी कार्यालय पेरिस खोल्सीमा सम्पन्न भएको छ। बैठकमा सहभागी नेताहरूले पार्टीलाई पुनर्गठित र सुदृढ गर्दै आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा राम्रो स्थान हासिल गर्न सक्ने गरी संगठन निर्माणमा जुट्न कार्यकर्तालाई बताएका छन्।
उपमहानगर संयोजक सिपी बजगाईको अध्यक्षतामा भएको बैठकमा पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि रहेका थियो। बैठकका क्रममा उपमहानगर समिति, सुनसरी जिल्ला समिति तथा प्रदेश समितिका सदस्यहरूलाई इन्चार्ज राईले सपथ ग्रहण गराएका थिए।
बैठकमा नेताहरूले विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै पार्टी संगठनलाई वडा तहसम्म थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। जनतासँगको सम्बन्ध विस्तार गर्दै कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा पैदा गर्न सके आगामी निर्वाचनमा पार्टीले राम्रो राजनीतिक हैसियत हासिल गर्न सक्ने उनीहरूको भनाइ थियो।
सोही अवसरमा कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न योगदान पुर्याएका बम देवान, सर्वजित राई, विजय पौडेल, दिलकुमार लिम्बू, प्रेम तामाङलगायत करिब चार दर्जन पुराना नेताहरूलाई अबिर, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राईले कोशी प्रदेशको पछिल्लो राजनीतिक परिस्थितिका कारण नेकपा प्रदेश सरकारमा सहभागी हुनुपरेको बताए। कांग्रेसभित्र चरम विवाद देखिएको र एमालेसँग कांग्रेसको सम्बन्ध चिसिएपछि कांग्रेस सरकारबाट बाहिरिएको अवस्थामा एमालेसँग मिलेर सरकार गठन नगरे प्रदेश सरकार विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउने उनको भनाइ थियो।
मध्यावधि निर्वाचनमा जाँदा राज्यलाई थप आर्थिक भार पर्ने भएकाले त्यसलाई रोक्न नेकपा प्रदेश सरकारमा सहभागी हुनुपरेको राईले स्पष्ट पारे। उनले बदलिँदो राजनीतिक परिस्थितिलाई बुझेर पार्टी संगठन निर्माणमा थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे।
नेकपा केन्द्रीय सदस्य तथा धरानका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले उत्पीडनमा परेका जनतालाई राज्यको मूल प्रवाहमा ल्याउन नेतृत्व गर्ने पार्टी नेकपा भएको बताए। उनले ‘नयाँ’को नाममा राजनीतिक मुखुण्डो ओढेर आएका शक्तिहरूबाट सचेत हुनुपर्ने धारणा राखे।
आफूले नेतृत्व गरेको ठाउँमा मजदुर, सुकुम्बासी, महिला, आदिवासी जनजाति लगायत विभिन्न जातजाति तथा धर्म–संस्कृतिका समुदायमाथि कुनै पनि प्रकारको विभेद हुन नदिने बेघाले बताए। सबै समुदायले राज्य र स्थानीय सरकारबाट समान व्यवहार र सम्मान पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज सरस्वती पोख्रेलले दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइन्। उनले सुकुम्बासीलाई उठिबास लगाउने तथा विभिन्न शीर्षकमा कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम भइरहेको बताइन्।
पोख्रेलले जनताका वास्तविक समस्या र सवाललाई केन्द्रमा राखेर पार्टीले आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधि अघि बढाउनुपर्ने बताइन्।
कार्यक्रममा नेताहरू राममान्डुपा राई, उमिता बराइली, रेवतिरमण राई, चोत्लुङलगायतले पनि सम्बोधन गरेका थिए। उनीहरूले संगठनलाई थप प्रभावकारी बनाउँदै कार्यकर्तामा नयाँ उत्साह र आत्मविश्वास पैदा गर्नुपर्नेमा जोड दिए।
बैठकमा पार्टीलाई पुनर्गठित र सुदृढ गर्दै जनतासँगको सम्बन्ध विस्तार गर्ने, संगठनलाई चलायमान बनाउने तथा आगामी स्थानीय र प्रदेश निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउने विषयमा जोड दिइएको थियो।


