धरान विशेष

संकटग्रस्त सहकारी व्यवस्थापनको बजेट घटाउन खोज्दा कावा मेयर बेघा र वडा अध्यक्ष बिच विवाद


धरान: धरान उपमहानगरपालिका भित्र रहेका संकटग्रस्त सहकारी व्यवस्थापन तथा सहकारीपीडितको समस्या समाधानका लागि बजेट विनियोजन गर्ने विषयमा विवाद भएपछि धरानको आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया थप पेचिलो बनेको छ।
सहकारीपीडितको समस्या समाधानका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने अडान कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा राखेपछि वडा अध्यक्षहरूले सँग विवाद भएको उनीहरूको भनाइ छ।
बजेट विनियोजनकै विषयमा शुक्रबार बसेको बजेट तर्जुमा समितिको बैठकमा भनाभन भएपछि नगरसभा स्थगित भएको थियो।
बैठकमा आफूलाई वडा अध्यक्षहरूले अमर्यादित तथा अश्लील शब्द प्रयोग गरी गाली गरेको कार्यवाहक प्रमुख बेघाले आरोप लगाएपछि विवाद सार्वजनिक भएको हो।
शनिबार धरान उपमहानगरपालिका परिसरमा १६ जना वडा अध्यक्ष र ७ जना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गर्दै बेघाले आफूहरूमाथि लगाएको आरोपको खण्डन गरेका छन्।
कावा प्रमुख बेघाले बैठकमा धरान–१८ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस संसदीय दलका नेता नरेन्द्र कुमार राई प्रविण राईले टेबल ठोक्दै आफूलाई आमाचकारी गाली गरेको तथा धरान–१५ का वडा अध्यक्ष एवं नेकपा एमाले संसदीय दलका नेता नरेश कुमार इवारमले ‘तेरो मात्र मनपरी चल्छ’ भन्दै टेबल ठोकेर अभद्र व्यवहार गरेको आरोप लगाएका थिए।
विवादका कारण बैठकमा सहमति जुट्न नसकेपछि नगरसभा स्थगित गर्नुपरेको बेघाको भनाइ छ।
धरान १८ का अध्यक्ष राईले आफूले अश्लील शब्द प्रयोग गरेको प्रमाणित गर्न कार्यवाहक प्रमुख बेघालाई चुनौती दिएका छन्।
‘मैले अश्लील शब्द बोलेको छैन, आरोप मात्र लगाइएको हो। आरोप पुष्टि गर्नुपर्छ,’ राईले भने। आफू राई समुदायमा जन्मिए पनि १८ वर्षदेखि जाँडरक्सी लगायतका कुलतका पदार्थ सेवन नगरेको र अश्लील शब्द प्रयोग गर्ने आफ्नो बानी नभएको उनले दाबी गरे।

वडाअध्यक्ष राईले अपशब्द प्रयोग भएको भन्ने समचारमा आपत्ति जनाउँदै राई भने ‘कावा प्रमुखको केटाकेटी पनजनक व्यवहार भयो, जिद्धीपन धेरै भयो, उफीदै कराउने बानीका कारण बजेट ब्रेक डाउन भएन । अहिले चिसो पानी खाएर ठन्डा दिमाग बनाउदै छु ।
‘कांग्रेसको बलमा चुनाव जितेर अहिले पदको दम्भ चढ्यो’
राईले कांग्रेसको सहयोगमा निर्वाचन जितेर आएपछि बेघाले आफ्नो विगत बिर्सिएर आफूहरूलाई असहयोग गरेको भन्दै आलोचना गरे।

राईले कार्यवाहक प्रमुख बेघाले उमेरमा आफूभन्दा कान्छो भएर आफूलाई ‘जी’ भनेर सम्बोधन गरेकोप्रति समेत असन्तुष्टि जनाए।‘ उनले भने ‘पदको दम्भले अग्रजको सम्मानको समेत ख्याल गरिएन ।,’ ‘कांग्रेसले गर्दा जितेर अहिले पदको दम्भ चढेको छ,’ उनले भने।
नगरको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने कार्यवाहक प्रमुखले पटक–पटक उत्तेजित हुने गरेको र विवादको सुरुवातसमेत बेघाबाटै भएको राईको आरोप छ।
आफूलाई लक्षित गर्दै कार्यवाहक प्रमुखले ‘कुट्नुहुन्छ भने कुट्नुस्’ भन्ने शैलीमा अभिव्यक्ति दिएपछि भनाभन भएको उनले बताए।
‘चुनाव लक्षित बजेट ल्याएर लोकप्रिय बन्न खोजियो’

वडा १५ का अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका नेता नरेश इवारमले कार्यवाहक प्रमुख बेघाले चुनाव लक्षित बजेट ल्याएर जनतामाझ लोकप्रिय बन्न खोजेको आरोप लगाए। उनले प्रस्तावित बजेटमा ३२ करोड ५० लाख रुपैयाँको व्यवस्था गरिएको उल्लेख गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर बजेट ल्याइएको दाबी गरे।
‘२०८४ को चुनाव लक्षित बजेट ल्याएर जनतामाझ लोकप्रिय हुन खोजिएको छ,’ इवारमले भने, ‘नानी पाउनु कहिले कहिले, कोक्रो अहिले बुनेर सपना सजाउन खोजे।’
उनले स्थानीय सरकार सञ्चालन ऐनअनुसार बजेट निर्माण तथा स्थानीय सरकार सञ्चालन गर्न कार्यवाहक प्रमुखलाई आग्रह गरे।
इवारमले आफूले स्थानीय सरकार सञ्चालन ऐनका दफा १७ पटक पढेको दाबी गर्दै भने, ‘कानुनअनुसार सरकार सञ्चालन गर्नुस्। कम्तीमा एकपटक स्थानीय सरकार सञ्चालन ऐन पढ्नुस्, चुनावमुखी प्रचार नगर्नुस्।’

वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले जारी गरेको विज्ञप्तिमा बजेट निर्माण प्रक्रियामा पर्याप्त छलफल नभएको आरोप लगाइएको छ।
उनीहरूले नगरको पछिल्लो अवस्थाप्रति आफूहरू गम्भीर रहेको जनाउँदै कार्यपालिकाभित्र देखिएको विवादका कारण बजेट निर्माण प्रक्रिया प्रभावित भएकोमा धरानवासीसँग क्षमायाचना गरेका छन्।
विज्ञप्तिअनुसार आर्थिक विकास समितिको बैठकमा समितिअन्तर्गत विनियोजित बजेटका विभिन्न शीर्षकमा आवश्यकताअनुसार बजेट परिचालन गर्ने विषयमा छलफल भइरहेको थियो।
छलफलमा धरानको समग्र आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट व्यवस्थापन गर्नुपर्ने तथा भौतिक पूर्वाधारसँगै पर्यटन, व्यापार, संस्कृति र स्थानीय अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरिएको थियो।
विशेषगरी धरानको पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारका लागि विनियोजित १५ लाख रुपैयाँ पर्याप्त नभएको भन्दै आवश्यकताअनुसार बजेट थप गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आर्थिक विकास समितिबाट प्रस्ताव गरिएको उनीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।