
धरान: डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको फाईनलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल इटहरीले पुगेको छ।
प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले हिमालयन मेघा एकाडेमी, धरानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा प्रभातले हिमालयनलाई ४७–४६ अङ्कले पराजित गरेको हो । समग्र चार क्वाटरमा प्रभातले १५–१०, ४–१५, २०–१३, ८–८ अङ्कले हिमालयन मेघालाई पराजित गरेको थियो । खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलका नेमसाङ मगर म्यान अफ द म्याच घोषित भएका थिए ।
प्रतियोगिताको दोस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरीलाई पराजित गर्दै फाईनलमा पुगेको हो । खेलमा पाराडाइजले १५–४, ५–७, ५–९ र ९–८ अङ्क गरी हिमशिखरलाई ३९–२८ अङ्कले पराजित गर्यो । खेलमा पराडाइज बोर्डिङ स्कुल इटहरीका प्रिन्स खत्री म्यान अफ द म्याच भएका थिए ।
पाराडाईज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानबीच उपाधिको भोलि फाईनल खेल हुनेछ । उपाधि दावेदार पराडाइज यो बास्केटबल प्रतियोगिताको चौथो संस्करणको उपविजेता पनि हो ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको थियो । प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो । । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।


