धरान विशेष

मारवाडी समुदायकी पहिलो सगरमाथा आरोही प्रीति रातेरिया अग्रवाललाई धरान उपमहानगरको सम्मान

धरान: विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै मारवाडी समुदायकी पहिलो महिला सगरमाथा आरोही बनेकी धरानकी चेली प्रीति रातेरिया अग्रवाललाई धरान उपमहानगरपालिकाले सम्मान गरेको छ।
आइतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले अग्रवाललाई सम्मान गर्दै उनको साहस, समर्पण र उपलब्धिले धरानसँगै समग्र नेपाललाई गौरवान्वित बनाएको बताए।
कार्यवाहक प्रमुख बेघाले प्रीति रातेरिया अग्रवाल सम्भवतः धरानबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला भएको उल्लेख गर्दै भने, सम्भवतः धरानका लागि प्रीति नै पहिलो महिला सगरमाथा आरोही हुन्। यसबारे अन्य कुनै दस्तावेजी प्रमाण भेटिएको छैन र मैले पनि अरू कसैको बारेमा सुनेको छैन।’
बेघाले प्रीति धरानकी छोरी मात्र नभई नेपालकै गौरव भएको उल्लेख गर्दै यस्ता प्रतिभाको राज्यले उचित पहिचान र सम्मान गर्नुपर्ने धारणा राखे। पर्वतारोहणसँगै कला, मनोविज्ञान तथा वैकल्पिक उपचारका क्षेत्रमा उनले देखाएको बहुआयामिक योगदान युवा पुस्ताका लागि प्रेरणादायी रहेको उनको भनाइ थियो।
धरान प्रवेशद्वार तीनकुनेबाट नगर परिक्रमा गराउँदै उनलाई नगरप्रमुखको कार्यकक्षसम्म ल्याएर सम्मान गरिएको थियो।
सम्मानपछि प्रतिक्रिया दिँदै प्रीति अग्रवालले उपमहानगरपालिकाबाट प्राप्त सम्मानले आफू अत्यन्तै खुसी भएको बताइन्। उनले भनिन्,‘यो क्षण मैले कल्पना समेत गरेकी थिइनँ। धरानले गरेको यो सम्मान म कहिल्यै बिर्सन सक्दिनँ। आगामी दिनमा धरानमै प्राणिक हिलिङसँग सम्बन्धित केही काम गर्न चाहन्छु।
४० वर्षीया प्रीति रातेरिया अग्रवालले २०२६ मे २१ (जेठ ७)गते बिहान ५ः५७ बजे विश्वकै सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गरेकी हुन्। उनका अनुसार बेस क्याम्पबाट शिखरसम्म पुग्न १२ घण्टा लागेको थियो भने शिखरमा करिब आधा घण्टा बिताएर सुरक्षित रूपमा फर्किन २४ घण्टा लागेको बताईन।
द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पाको साथमा सगरमाथा आरोहण गरेकी उनको सफलताले मारवाडी समुदायसँगै नेपाली पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेको छ।
पछिल्ला तीन वर्षदेखि निरन्तर पर्वतारोहण अभ्यासमा रहेकी प्रीतिले यसअघि लोबुचे पूर्व, मेरा पिक, अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो तथा विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहण गरिसकेकी छन्। मनास्लु आरोहणसँगै उनी नेपालकी पहिलो मारवाडी महिला आरोही बनेकी थिइन्।
धरानमा जन्मिएर काठमाडौंमा शिक्षा हासिल गरेकी प्रीतिले हिमाल आरोहण आफ्नो बाल्यकाल देखिको सपना भएको बताइन्। परिवार तथा मारवाडी समुदायका महिलाको प्रेरणा र प्रोत्साहनले आफूलाई सगरमाथासम्म पुग्ने आत्मविश्वास दिएको उनको भनाइ थियो।
सगरमाथाको शिखरमा उनले मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको झण्डा फहराएकी थिइन्। आफू प्राणिक हिलर तथा अर्हत योगीका रूपमा पनि पहिलो पटक सगरमाथाको शिखरमा पुगेको उनले बताइन्।
आरोहणका क्रममा देखिएका चुनौती स्मरण गर्दै उनले हिमालमा देखिएका मृत शरीरले आफूलाई भावुक बनाएको र हिलारी स्टेप नजिक गाइडको सहयोगले ठूलो दुर्घटनाबाट जोगिएको अनुभव सुनाइन्। शिखरमा पुगेपछि विश्व शान्ति र मानव कल्याणका लागि ध्यान तथा प्रार्थना गरेको उनले बताइन्।
पर्वतारोहणसँगै उनी फाइन आर्ट्स तथा एप्लाइड आर्ट्समा स्नातक, जेमोलोजी ९रत्न विज्ञान० र काउन्सेलिङ साइकोलोजीमा पोस्ट ग्राजुएट डिप्लोमा हासिल गरेकी छन्। साथै प्राणिक हिलिङका तीनै तह पूरा गरी प्रमाणित प्रशिक्षकका रूपमा विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी सेवामा पनि सक्रिय छिन्। धरानमा प्राणिक हिलिङ सेन्टर स्थापना गर्ने योजना रहेको उनले जानकारी दिइन्।
सगरमाथा आरोहणपछि आफ्नो जीवनप्रतिको दृष्टिकोण परिवर्तन भएको बताउँदै उनले अब विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल तथा सातै महादेशका उच्च शिखर आरोहण गर्ने लक्ष्य रहेको सुनाइन्। भविष्यमा व्यावसायिक पर्वतारोहण गाइड बनेर नयाँ पुस्ताका आरोहीलाई सहयोग गर्ने योजना पनि उनले व्यक्त गरिन्।
कार्यक्रममा सहभागीहरूले अग्रवालको ऐतिहासिक उपलब्धिले धरान र नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्‍याएको उल्लेख गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।