
धरान: हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले विद्यार्थीहरुलाई कृषि र खाद्य उत्पादन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले शनिबार धरान–५ स्थित देवीगाउँ सिरानको खेतमा धान रोपाइँ कार्यक्रममा सहभागी गराएको छ।
कार्यक्रममा विद्यार्थीहरूले धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कार्यमा प्रत्यक्ष सहभागिता जनाएका थिए। यस अवसरमा उनीहरूले धान रोपाइँदेखि चामल बन्नेसम्मको सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा बुझ्ने अवसर पाएका थिए।
विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारसँग जोड्दै कृषि पेशाप्रति सम्मान र रुचि जगाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए।
रोपाइँमा सहभागी छात्रा आस्था उदासले पहिलो पटक धान रोप्ने अनुभव निकै रमाइलो लागेको बताइन्। अर्का विद्यार्थी सिद्धार्थ श्रेष्ठले समूहमा मिलेर काम गर्दा सहकार्यको महत्वसँगै काम छिटो सम्पन्न हुने अनुभव भएको प्रतिक्रिया दिए।
रोपाइँ कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषि सम्बन्धी ज्ञान र सामूहिक कार्य गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


