
धरान: बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र व्यवस्थित बनाउन नयाँ अभ्यास सुरु गरेको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति (भिसी) डाक्टर ईन्द्र लिम्बुले परम्परागत खरिद प्रक्रियामा परिवर्तन गर्दै पहिलो पटक टेन्डर आह्वान गर्नुअघि नै सम्भावित आपूर्तिकर्ता कम्पनीहरूबाट प्राविधिक प्रस्तुतीकरण (प्रिजेन्टेसन) गराइएको जानकारी दिए। उनका अनुसार यो अभ्यासले खरिद प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउनेछ।
‘हामीले परम्परागत खरिद प्रक्रियालाई तोड्दै नयाँ अभ्यास सुरु गरेका छौं,’ निमित्त उपकुलपति लिम्बुले भने, ‘यसअघि आवश्यकता पहिचान भएपछि बायोमेडिकल इन्जिनियरले स्पेसिफिकेसन तयार गरेर सिधै टेन्डर आह्वान गर्ने अभ्यास थियो।’

उनले पुरानो प्रक्रियामा स्पेसिफिकेसन सीमित हुने,चिकित्सक तथा बायोमेडिकल टोलीले बजारमा उपलब्ध नवीनतम प्रविधि र सुविधाबारे पर्याप्त जानकारी नपाउने तथा टेन्डर प्रक्रियामा पटक–पटक संशोधन गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको थियो।
यसपटक भने नेपालमा एमआरआई मेसिन आपूर्ति गर्ने विभिन्न कम्पनीलाई प्रतिष्ठानमै बोलाएर प्रिजेन्टेसन गराइएको छ। प्रस्तुतीकरणमार्फत उपलब्ध मेसिनका प्राविधिक विशेषता, सुविधा, स्पेसिफिकेसन तथा अनुमानित लागतबारे अग्रिम जानकारी प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।
प्रिजेन्टेसनमा फुजी, युनाइटेड इमेजिङ, फिलिप्स, सिमेन्स र जीई लगायत करिब पाँच कम्पनी सहभागी भएका छन्।
प्रतिष्ठानका अनुसार यस प्रक्रियाबाट विभिन्न कम्पनीका एमआरआई मेसिनको प्राविधिक क्षमता तुलना गर्न सहज भएको छ। साथै, अनुमानित लागतको स्पष्ट आधार तयार हुने भएकाले टेन्डर प्रक्रिया पनि थप सहज, यथार्थपरक र प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।
यसअघि प्रि–बिड चरणमा स्पेसिफिकेसन संशोधनको माग, बारम्बार परिवर्तन तथा चलखेलको आशंका रहने गरेकोमा नयाँ प्रक्रियाले त्यस्ता समस्या न्यून हुने विश्वास प्रतिष्ठानको छ।
प्रतिष्ठानले एमआरआई खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) मार्फत गर्ने तयारी गरेको छ। आईसीबी प्रक्रियाबाट खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)लगायतका केही कर छुटको सुविधा प्राप्त हुने भएकाले मेसिनको लागत अघिल्लो तुलनामा कम पर्ने अपेक्षा गरिएको छ।



